नवलपुर

गैडाकोटमा भोलीदेखि सेभेन ए साइड नकआउट फुटबल हुने

Banner

नवलपुर,भदौ २३-

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा भोलीदेखि ‘मदन भण्डारी सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता–२०७९’ हुने भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी गैँडाकोटको आयोजनामा हुने प्रतियोगितामा ३२ टिम सहभागी हुने कार्यक्रम संयोजक विनोद कँडेलले बताउनुभयो । बिहीबार गैँडाकोटमा आयोजित पत्रकार सम्मेलनमा कँडेलले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको भन्दै नवलपुर, चितवन, तनहुँ, काठमाडौँ तथा मकवानपुरलगायतका जिल्लाका फुटबल क्लबहरु सहभागी हुने जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी टिमहरुले विदेशी खेलाडीसमेत सहभागी गराउने जानकारी आएको कँडेलको भनाइ छ ।

गैँडाकोट ६ स्थित भाग्योदय आधारभूत विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगिताको विजेताले उपाधिसँगै एक लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउने एकेडेमीका अध्यक्ष नरेश थापाले बताउनुभयो । आज प्रतियोगिता उद्घाटनसँगै एउटा खेल खेलाइने भए पनि अन्य दिन कम्तिमा पाँच वटासम्म खेल खेलाइने थापाको भनाइ छ ।

खेल क्षेत्रमा भविष्य छ भनेर देखाउनका लागि एकेडेमी सञ्चालन गरिएको थापाले बताउनुभयो । एकेडेमीले आगामी दिनमा अन्य विधाका खेलहरु समेत खेलाउँदै अगाडि बढ्ने थापाको भनाइ छ । खेलकुदको प्रशिक्षण दिने उद्देश्यले सञ्चालित एकेडेमीले नियमित रुपमा खेलकुदका गतिविधिहरु सञ्चालन गर्दै खेल क्षेत्रमा नयाँ आयाम थप गर्ने तयारी गरेको थापाको भनाइ छ ।

बिहीबारको पत्रकार सम्मेलनमा शिक्षा क्षेत्रका व्यक्तित्व गोपेन्द्र केशरी न्यौपाने, सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलाश पौडेल (वाईबी) लगायतका व्यक्तिहरुले मन्तव्य राख्नुभएको थियो । पत्रकार सम्मेलन मदन भण्डारी स्पोर्टस् एकेडेमी गैँडाकोटका अध्यक्ष नरेश थापाको अध्यक्षतामा भएको थियो ।प्रतियोगिताको प्रायोजकमा एम्स एब्रोड एजुकेशन र सेन्ट्रल कलेज रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>