Breaking News

नारायणघाट-बुटवल सडकः तीन महिनामा भौतिक प्रगति १० प्रतिशत हुनुपर्ने सर्तसहित म्याद थप

Banner

नवलपुर,भदौ १९-

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड विस्तार आयोजनामा समयमै काम नगर्ने निर्माण कम्पनीको अवधि एक वर्ष थपिएको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाका प्रमुख रमेश दिष्टीले गत साउनको २३ गतेदेखि लागू हुनेगरी ३८६ दिनका लागि आयोजनाको म्याद थपिएको जानकारी दिनुभयो । गत साउन २२ गते सम्पन्न हुनुपर्ने आयोजनाको भौतिक प्रगति १८ प्रतिशतमात्र छ ।

४२ महिनाभित्र सम्पन्न गर्नेगरी यो सडक विस्तारका लागि २०७५ माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुको सट्टा अवधि किन थप गर्नुुप¥यो भन्ने जिज्ञासामा उहाँले कोभिड–१९ को महामारीका कारण समयमा काम हुन नसक्दा म्याद थपिएको बताउनुभयो ।

सो आयोजनाको म्याद थपबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र आयोजना प्रमुख दिष्टीको कुरा बाझिएको छ । तीन–तीन महिनामा आयोजनाको भौतिक प्रगतिको मूल्याङ्कन गरिने र प्रगति कम्तीमा १० प्रतिशत हुनुपर्ने सर्तसहित म्याद थप गर्ने निर्णय भएको बताउनुभयो । तर आयोजना प्रमुख दिष्टीले सो सर्तबारे अनभिज्ञता प्रकट गर्नुभयो ।

मन्त्री राईले यसअघि संसदीय समितिमा सर्त नमान्ने हो भने ठेक्का रद्द गर्ने चेतावनी दिनुभएको थियो । त्यसपछि चीनबाटै आयोजनाको कामको मूल्याङ्कन भएको र सर्तसहित म्याद थप गरिने व्यवस्था भएको बताउनुभयो ।

आयोजना प्रमुख दिष्टीले भने म्याद थपमा राखिएका सर्तबारे आफूलाई केही पनि जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “म्याद थपका सर्तबारे मन्त्रीज्यूले नै भनेपछि कुरा सक्किइगयो नि । तर यसबारे मलाई केही पनि थाहा छैन ।” गएको असार ११ गते प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले सो आयोजनाको ठेक्का तोड्ने बताउनुभएको थियो ।

मन्त्री, मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक र आयोजना प्रमुखको उपस्थिति रहेको सो बैठकमा समितिले सो आयोजनाबारे गम्भीरतापूर्वक छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन र आगामी दिनमा आयोजनाको लागत नबढ्नेगरी निर्धारित समयमा गुणस्तरीय काम सम्पन्न गर्ने प्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको थियो ।

दुई ‘प्याकेज’मा विस्तार

आयोजना प्रमुखका अनुसार गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.५ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ गरी एकैसाथ विस्तार कार्य भइरहेको छ । विस्तार भइरहेको सडकको कुल लम्बाइ ११३ किलोमिटर रहेको छ । विस्तार भइरहेको सडकखण्डको ‘स्टान्डर्ड’ चौडाइ चार लेन (२४ मिटर) हुन्छ । अन्य क्षेत्रमा सडकको कुल चौडाइ ‘मेडियन’सहित चार लेनको हुन्छ भने ग्रामीण र सहरी क्षेत्रमा चार लेनका साथै ‘सर्भिस ट्र्याक’समेत निर्माण गरिनेछ । ‘मेडियन’को चौडाइ तीन मिटर हुनेछ । विस्तार भइरहेको पूरै क्षेत्र (११३ किलोमिटर) मा हरियालीसहितको ‘मेडियन’ निर्माण भइरहेको उहाँले बताउनुभयो ।

गैँडाकोट–दाउन्नेखण्डको सहरी क्षेत्र (१७.७ किमि)मा दुवैतर्फ ६ मिटरको ‘सर्भिस ट्र्याक’ पनि निर्माण भइरहेको छ । त्यसैगरी ग्रामीण क्षेत्र (४२.७ किमि) ‘सर्भिस ट्र्याक’बाहेक चार लेनको सडक निर्माण भइरहेको छ । त्यसैगरी कठिन भूगोलका कारण दाउन्ने उकालो क्षेत्रको ४.१ किलोमिटरमा विस्तारपछि पनि यो राजमार्ग तीन लेनको मात्र हुने उहाँले जानकारी दिनुभयो । दाउन्ने क्षेत्रमा सवारीसाधनले दुई लेन उकालो र एक लेन ओह्रालोमा गुड्नुपर्ने हुन्छ ।

करिब १७ अर्ब रुपियाँ लागत

आयोजनाका अनुसार एसियाली विकास बैङ्क (एडीबी) ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँ लागतमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ । लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानी छ ।

एडीबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्नेगरी ऋण उपलब्ध गराएको हो । आयोजनाका अनुसार, गैँडाकोट–दाउन्ने सडकखण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवलखण्डको लागत सात अर्ब ८६ करोड ३४ लाख रुपियाँ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>