राजनीति
ओलीका कारण एमसीसी पास नहुने भोः माओवादी नेता शर्मा

काठमाडौं,पुस ५-
नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले प्रमुख विपक्षी दल नेकपा एमालेका कारण अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी संसदबाट पारित नहुने स्थिति आएको टिप्पणी गरेका छन् । एमसीसी लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बोलाएको सर्वदलीय बैठकमा एमाले उपस्थित नभएपछि नेता शर्माले यस्तो टिप्पणी गरेका हुन् । ‘एमसीसी पास गर्न ओलीजीले संकट उत्पन्न गराउनुभयो । ओलीजीका कारणले नै एमसीसी पास नहुने भो’ नेता शर्माले भने ।
सरकारमा छँदा एमालेले एमसीसी पास गर्न निकै पहल गरेको स्मरण गर्दै नेता शर्माले प्रश्न गरे, ‘एमसीसी पास गराउन सहयोग नगरेको भनेर सभामुखलाई आरोप लगाउने, अपदस्त गर्ने के के गर्नेले सरकारबाट हटिसकेपछि बेइमानीपूर्वक जनताको अगाडि लाज नमानीकन आवाज फेर्ने ?’ एमालेले अन्तर्राष्ट्रिय स्तरमा वर्तमान सरकार कमजोर छ भन्ने देखाउनका लागि एमसीसीका सम्बन्धमा हुने छलफलमा सहभागी नभएको माओवादी नेता शर्माको आरोप छ ।
























