गण्डकी

देवघाटधाम गण्डकी परिक्रमा महोत्सव,२५ किमी धार्मिक मार्गमा पैदल यात्रा

Banner

देवघाट,असोज १-

पवित्र तीर्थस्थल देवघाटधाम र गण्डकीसङ्गमको पूर्ण परिक्रमा गर्ने उद्देश्यले आयोजित देवघाटधाम गण्डकी परिक्रमा महोत्सव २०७८ सम्पन्न भएको छ । नेपालको मध्यभागमा पर्ने तनहुँ, चितवन र नवलपुर गरी तीनवटा जिल्लामा फैलिएको समग्र देवघाटधामको धार्मिक एवम् पर्यटकीय क्षेत्रको समृद्धिका निम्ति सञ्चालित परिक्रमा महोत्सवमा यस क्षेत्रका सयौँ धार्मिक संघ(संस्थाको प्रत्यक्ष सहभागिता रहेको थियो । देवघाट क्षेत्र विकास समितिको व्यवस्थापन र समन्वयमा सञ्चालन भएको महोत्सवले देवघाटमा नयाँ सम्भाव्यताको ढोका खोलेको छ ।

विगतमा पनि  हुने गरेको परिक्रमा यस पाली भने महेश संन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिको विशेष उत्प्रेरणा र अन्य सन्तहरूको सहभागितामा व्यवस्थित रूपले सञ्चालन भएको हो । तनहुँ, चितवन र नवलपुरमा पर्ने देवघाट क्षेत्रको २५ किमि धार्मिक मार्गमा पैदल यात्रामार्फत गरिएको परिक्रमामा सयौं तीर्थयात्रीहरूको उल्लासमय उपस्थिति रहेको थियो ।

मंसिर १ गते बुधबार ७ बजे पवित्र कालीगण्डकी र त्रिशूली नदीको सङ्गममा शालग्राम शिला र गण्डकीको पूजा सङ्कल्प गरी गलेश्वर आश्रम पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिको आशीर्वचनसहित शुभारम्भ भएको परिक्रमा दिउँसो ३ बजेसम्म चलेको थियो । परिक्रमामा तनहुँ देवघाट, चितवन देवघाट र नवलपुर गैँडाकोट क्षेत्रका श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो । धार्मिक झाँकी, भजन-कीर्तन र पूजा-आजाले सहित परिक्रमा निकै व्यवस्थित रूपमा सञ्चालित भयो ।

विशेष गरी देवघाट क्षेत्रका गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश संन्यास आश्रम (विद्येश्वर मन्दिर), हरिहर आश्रम (हरिहर मन्दिर) र अन्य मठमन्दिरका पीठाधीश एवम् आचार्य र बटुकहरूको परिक्रमामा मुख्य उपस्थिति देखिन्थ्यो । यसै गरी चितवनतर्फ सीताराम संस्कृत मावि, बालिका आश्रम, लक्ष्मीनारायण मन्दिर, यज्ञशाला मन्दिर, राम मन्दिर, राधादामोदर मन्दिरलगायत विभिन्न संघसंस्थाका प्रमुख एवम् विद्यार्थीहरूको प्रतिनिधिमूलक उपस्थिति रहेको थियो ।

भरतपुर आँपटारी क्षेत्रबाट स्कोन चितवन, ॐ शान्ति नारायणगढ, वागीश्वरी आध्यात्मिक परिषद् लगायतका संघ-संस्थाले स्वागतसहित सहभागिता जनाएका थिए । आ-आफ्ना क्षेत्रमा पूर्ण कलश र फूलप्रसाद र पिउने पानीको व्यवस्थासहित नगरवासीद्वारा यात्रीहरूलाई स्वागत गरिएको थियो । पोखरा बसपार्क क्षेत्रमा गौरेश्वर मन्दिर परिवार र टोलका तर्फबाट जुस, पानीको सेवासहित स्वागत गरिएको थियो भने हरिहर मन्दिर नारायणगढमा मन्दिर व्यवस्थापनका पदाधिकारी समाजसेवी महेन्द्रलाल प्रधान, उमाशङ्कर अग्रवाललगायत प्रेमनारायण श्रेष्ठ, गीता वाग्ले लगायतका विशिष्ट महानुभावहरूले यात्रीहरूलाई औपचारिक स्वागत सत्कारसहित मन्दिरका तर्फबाट फलप्रसादको व्यवस्था गरिएको थियो ।

देवघाट र गण्डकीको महिमागान गर्दै अघि बढेको परिक्रमालाई गैँडाकोट पुलचोकमा गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल, मौलाकालिका धार्मिक सेवा समितिका अध्यक्ष शालिग्राम सापकोटा नेतृत्वको टोलीले स्वागत गरेको थियो । गैँडाकोट क्षेत्रबाट परिक्रमा महोत्सवको सहसंयोजन गरेको मौलाकालिका मन्दिर व्यवस्थापन समितिको आह्वानमा त्यस क्षेत्रका अधिकांश धार्मिक संघसंस्था, मठमन्दिर र आमासमूहहरूले तीर्थयात्रीहरूको भव्य स्वागत सत्कार गरेका थिए ।

मौलाकालिका भगवतीको दर्शन गर्दै अघि बढेका यात्रीलाई श्रीलक्ष्मीनृसिंह दिव्यधाम परिसरमा भोजन प्रसादको व्यवस्थित प्रबन्ध मिलाइएको थियो । गाजाबाजा र भजनकीर्तनसहित गैँडाकोटवासीले प्रस्तुत गरेको स्वागत सत्कार र उपस्थितिले यात्रा ज्यादै आकर्षक देखिन्थ्यो । मौलाकालिका सामुदायिक वनको उत्तरी भागमा अवस्थित वनक्षेत्रको मार्ग हुँदै पुनः तनहुँ पुगेको परिक्रमालाई देवघाट गाउँपालिका वडा नं.५ को देवपुर क्षेत्रमा पालिका र वडाका तर्फबाट जलपानसहित भव्य स्वागत गरिएको थिए । पूर्ण यात्राभर सहभागी करिब ११ सयभन्दा बढी यात्रीहरूले ऐतिहासिक मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा पुगेर पूर्णाहुतिसहित परिक्रमाको समापन गरेका थिए ।

संक्षिप्त समापन कार्यक्रममा यात्रा अनुगमन समितिका संयोजक देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले सयौँ संघसंस्थाका करिब ४ हजार भन्दा बढी सहभागीहरूको यात्रामा व्यवस्थित उपस्थिति रहेको प्रारम्भिक जानकारी प्रस्तुत गरे । यात्रालाई व्यवस्थित गर्न यात्राअवधिभर सहजीकरण गरेका फणीन्द्रप्रसाद पौडेलले हार्दिकतापूर्ण उपस्थितिका निम्ति सबैलाई आभार व्यक्त गरे । परिक्रमाको परिकल्पनासहित पूर्ण यात्राको नेतृत्व स्वामी रमणानन्द गिरिको विशेष आशीर्वादपछि देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीको धन्यवाद ज्ञापन र समापनको उद्घोषपछि परिक्रमा महोत्सव सम्पन्न भयो ।

तनहुँ, चितवन र नवलपुरका स्थानीय निकायका प्रमुख एवम् जिल्लाका प्रहरी प्रशासन र सूचना प्रसारणका प्रमुखहरूसहित थुप्रै विशिष्ट महानुभावहरूले समेत पहिलो पटक पूर्ण परिक्रमा गर्न पाएकोमा आयोजकप्रति आभार व्यक्त गरे । विशेष गरी युवापुस्तालाई धार्मिक उत्तरदायित्व बोध गराउन र नवलपुरतर्फको देवघाट क्षेत्रलाई धार्मिक पर्यटनको मुख्य गन्तव्य बनाउन परिक्रमा महोत्सव फलदायी रहेकोमा महेश संस्कृत गुरुकुलम्‌का प्रधानाचार्य फणीन्द्रप्रसाद पौडेलले विशेष खुशी व्यक्त गरे । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले समग्र देवघाटधामको विकासमा यो यात्रा फलदायी हुने विश्वास व्यक्त गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए भने देवघाट क्षेत्र विकास समितिका पुर्ब अध्यक्ष शिवराज पौडेल, डा. गुरुप्रसाद सुवेदी, टङ्कनाथ पौडेल लगायतका देवघाटसँग परिचित व्यक्तिहरूले परिक्रमा देवघाट सुहाउँदो गतिविधि भएको र यसले धार्मिक पर्यटनलाई महत्त्वपूर्ण टेवा पुऱ्याउनेमा खुशी व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>