राजनीति
दाङमा बन्दकर्ताले टायर बालेनन्ः सडक सफा गरे, जेब्रा क्रसिङ्गमा पेन्ट लगाए

दाङ ,कार्तिक ३०-
नेपाल बन्द भनेपछि सामान्यतया हामी सडकमा टायर बाल्ने, तोडफोड गर्ने र झडप तथा गिरफ्तारीका घटना सम्झिन्छौं । तर पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्दी लगायतको विरोधमा नेपाल बन्द गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले भने बन्द आयोजक भएर पनि रचनात्मक काम गरेको छ । मंगलबार गरेको नेपाल बन्दको क्रममा दाङमा बन्दकर्ताहरूले सडक सफा गरेका छन् भने ट्राफिक संकेतहरूको समेत व्यवस्थापन गरेका छन् ।
सडकका देखिएका बन्दकर्ता सडक सरसफाई र ट्राफिक चिन्हहरुको व्यवस्थापनमा लागेका छन्। बन्द कर्ताहरुले आफैँ कुचो समाएर सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका छन्। राजनीतिक कार्यकर्ताहरु अराजक मात्रै हुन्छन् भन्ने सोचलाई कम गराउन र समाजमा रचनात्मक काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको आयोजकले जनाएको छ । ‘सबै साथीहरुले नयाँ र रचनात्मक काम गरौ भनेर प्रयास गरेका हौँ,’ बन्द आयोजक दलका नेता हेमन्त प्रकाश वलीले संचारकर्मीसंग भने । मूल्यवृद्धिको विरोधमा बन्द भएपनि त्यसलाई सदुपयोग गरेर रचनात्मक काम गर्न लागिएको उनको भनाई छ ।
बन्दको समयमा यस्तो गरेमा नियमित अवस्थाको भन्दा राम्रो हुने र सडक खाली भएको बेला गरिएको पेन्टसमेत दीर्घकालिन हुने विश्वास आफूहरुले लिएको उनले बताए।
























