राजनीति
गोरखालाई टुक्य्राएर २ जिल्ला बनाऔँ,बिकास गर्न सकिएनः बाबुराम भट्टराई

गोरखा,कात्तिक २७-
समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले गोरखाको उत्तरी क्षेत्रलाई अर्कै जिल्ला बनाउन अभियान चलाउन स्थानीयलाई आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष भट्टराईले संविधानले नै विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर उल्लेख गरेकाले यो सम्भव रहेको पनि बताउनुभयो ।
उहाँ पछिल्लो केही दिनयता गृह जिल्ला गोरखाको भ्रमणमा हुनुहुन्छ । भ्रमणका क्रममा स्थानीयसँग छलफल तथा भेटघाट गरिरहनु भएको छ । स्थानीयसँग उहाँले भन्नुभयो, ‘उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन अभियान चलाउनुपर्छ । संविधानमा विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर लेखिएको छ । अर्को जिल्ला, विशेष वा स्वायत्त क्षेत्र जे बनाउँदा पनि हुन्छ । जनताले बुझ्ने भनेको जिल्ला हो।’
उहाँले सत्ता आफ्नो हातमा नभएसम्म र जनप्रतिनिधि आफैंले नचुनेसम्म जति चिच्याएपनि बिकास हुन नसक्ने जिकिर गर्नुभयो । भट्टराई गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सासंदसमेत हुनुहुन्छ । उहाँले उत्तरी भेगका धार्चे, चुमनुव्री र बारपाक क्षेत्रलाई समेटेर अर्को जिल्ला बनाउन सकिने बताउनुभयो । यसका लागि अन्य दलहरुले पनि साथ दिनुपर्ने उहाँले आग्रह गर्नुभयो ।
























