राजनीति
सर्लाहीमा प्रचण्डले भनेः जस्तोसुकै खतरा मोलेर भए पनि मधेसमै चुनाव लड्छु

काठमाडौं,कार्तिक १४-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी नेताहरुमाथि आक्रोश पोखेका छन् । सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई मधेसी जनता लुट्ने दलाल भएको आरोप लगाए ।
मधेस विरोधी केपी ओलीलाई साथ दिनेहरु मधेसी हुनै नसक्ने र मधेसी अनुहार देखाएर महन्थ र राजेन्द्रहरुले मधेसी जनता लुट्ने र ठग्ने काम गरेको उनको आरोप थियो ।
‘म त्यस्तो प्रधानमन्त्री हो, जसले दुईपटक संविधान संशोधन प्रस्ताव राखेर मधेसी जनताको हकहितका लागि लडेको हो । तर केपी ओलीले पास हुन दिएनन् । तर आज बिडम्वना गणतन्त्र, संघीयता विरोधी समानुपातिक समावेशी विरोधी केपी ओलीलाई आफूलाई मधेसको मसिहा ठान्ने महन्थ ठाकुर र राजेन्द्र महतोहरुले साथ दिएर त्यसको सरकारमा सहभागी भएका हुन् कि होइनन् ? अनि तपाई हामीले यो कुरा बिर्सिन मिल्छ ?’ प्रचण्डले प्रश्न गरे ।
प्रचण्डले को मधेसको मित्र हो, को दुश्मन हो बुझाईदिन शिक्षक तथा बौद्धिक वर्गलाई अनुरोध पनि गरे । अध्यक्ष प्रचण्डले थपे, ‘अनि मधेसी जनतालाई स्पष्ट पार्नका लागि जस्तोसुकै खतरा मोलेर भए पनि मधेसमै चुनाव लड्छु, मधेसी जनताको माया र विश्वास पाए भने म फेरि प्रधानमन्त्री हुन्छु र मधेसको निम्ति संविधान संशोधन गर्टु भन्ने तपाईको मित्र हो कि मधेसी अनुहार देखाएर मधेसी जनतालाई लुट्ने र ठग्ने डाँका र दलालहरु तपाईका मित्र हुन् ? यो फैसला तपाईहरुले यो पटकको चुनावमा गर्नुपर्नेछ । असली मित्र र बइरीहरु को हो छान्नुपर्नेछ ।’
























