खैरहनी

खैरहनीमा भएको वक्तृत्वकला प्रतियोगितामा पूजा बुर्लाकोटी पहिलो

Banner

चितवन, भदौ २९-

५७ औं बाल दिवसको अवसरमा चितवनको खैरहनी नगरपालिकामा भएको वक्तृत्वकला प्रतियोगितामा पूजा बुर्लाकोटी  पहिलो भएकी छन् ।

खैरहनी नगरपालिका र लुमन्तीको संयुक्त आयोजनामा भएको प्रतियोगितामा बिपन्न समुदायका विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको हो ।

प्रतियोगितामा विद्या विक दोस्रो र सुनिता बुढाथोकी तेस्रो भएका छन् । १५ जना विद्यार्थी सहभागी भए पनि ९ जनाले मात्र प्रतिस्पर्धामा सहभागिता जनाए ।
कोरोना महामारीले बालबालिकाको शिक्षामा पारेको असरका विषयमा प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने सहभागीलाई हौसलाका लागि स्टेसनरी प्रदान गरिएको थियो

विजेता तथा सहभागी विद्यार्थीलाई खैरहनी नगरपालिकाकी उपप्रमुख सुनिता थपलिया, नगर शिक्षा अधिकारी राजु बानियाँ, सामाजिक विकास समिति संयोजक मनेजर महतोले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा समिति संयोजक महतो, खैरहनी माविकी शिक्षक बिन्दुकुमारी चौधरी र पत्रकार ध्रुवराज खनाल निर्णायक रहेका थिए । खैरहनी नगरपालिकाकी उपप्रमुख थपलियाको अध्यक्षतामा भएको पुरस्कार बितरण कार्यक्रममा नगर शिक्षा अधिकारी राजु बानियाँ, लुमन्ती खैरहनीका कार्य क्षेत्र संयोजक शिंहबहादुर लामा, नेपाल बसोबास बस्ती संरक्षण समाज खैरहनिकी अध्यक्ष उर्मिला विकले मन्तव्य राखेका थिए ।

लुमन्तीका सामाजिक सहजकर्ता कृष्ण शर्माले सञ्चालन गरेको कार्यक्रममा महिला तथा बालबालिका शाखा उपप्रमुख बिमला रानाभाटले प्रतियोगिताको उदेश्यसहित स्वागत मन्तव्य राखेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>