नवलपुर

गैँडाकोटको बजेट ८० करोड ६० लाखः बाँझो जग्गारहित नगर कार्यक्रम

Banner

नवलपुर, असार १०–

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ८० करोड ५९ लाख ५३ हजार बराबरको बजेट पारित गरेको छ । नगरपालिकाको आज सम्पन्न नवौँ नगरसभामा प्रमुख छत्रराज पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम एवं उपप्रमुख विष्णुकुमारी कँडेलले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख पौडेलले ‘बाँझो जग्गारहित नगर’, ‘म तरकारीविना खान्न, म तरकारी किन्न जान्न’, ‘गैँडाकोटको पहिचान: स्वादिलो मकै’, ‘ शिक्षित छोरी, सक्षम घर’, विदेशबाट फर्किएका नागरिकले शुरु गरेको व्यवसायमा कर छुट, सुत्केरी पोषिलो खाना, महिलासँग उपप्रमुख कार्यक्रम, गरीबीमुक्त गैँडाकोट, कृषिमा सहकारीको लगानी, एकघर एक बिरुवालगायत नयाँ कार्यक्रम घोषणा गर्नुभयो । नगरप्रमुखको नीति तथा कार्यक्रमलाई केही परिमार्जनसहित आजै पारित गरिएको हो ।

नीति तथा कार्यक्रमका केही विषयवस्तुलाई बजेटले सम्बोधन नगरेको जनाउँदै नगरकार्यपालिका सदस्यले नगरप्रमुखको ध्यानाकर्षण गराएका थिए ।

नगर प्रमुखले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नगर उपप्रमुख कँडेलले प्रस्तुत गरेको पूँजीगततर्फ रु २६ करोड ४६ लाख तथा चालुतर्फ रु ५४ करोड १३ लाख ५० हजार बराबरको बजेट नगरसभाले पारित गरेको हो ।

त्यस्तै नगरपालिकाको आज सम्पन्न नवौँ नगरसभामा बजेटका साथै आर्थिक विधेयकसमेत सर्वसम्मत रुपले पारित भयो । नगरसभा सदस्यले नारायणी नदी तटीय क्षेत्रका लागि बजेट पर्याप्त नभएको, शहरीकरणसँगै नाला व्यवस्थापन तथा निर्माणका लागि बजेट पर्याप्त नभएको, सुकुम्बासी समस्या समाधान तथा शिक्षा र सञ्चारमाध्यमका लागि कार्यक्रम र बजेटले न्याय नगरेको गुनासो गरेका थिए । त्यस्तै नगरपालिकाभित्र सडकका दायाँबायाँ फूलभन्दा पनि मौसमी फलफूलका बिरुवा रोप्नुपर्नेमा नगरसभा सदस्यहरुले ध्यानाकर्षण गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>