नवलपुर

जनता आवास कार्यक्रमबाट नवलपुरमा ३५९ घर बन्ने

Banner

ज्ञानु पंगेनी

कावासोती, मंसिर ६-

नवलपरासी पूर्व (नवलपुरमा) जनता आवास कार्यक्रम मार्फत् ३५९ वटा नयाँ घर निर्माण गरिने भएको छ ।

गण्डकी प्रदेश सरकार ‘जनता आवास कार्यक्रम’ अन्तरगत जिल्लामा घर निर्माणका लागि चालु आर्थिक वर्षमा तीन करोड ६८ लाख रुपैँया बजेट बिनियोजन गरिएको हो । दलित, विपन्न मुस्लिम,लोपोन्मुख र अति सीमान्तकृत जाति तथा समुदायका विपन्न वर्गलाई आवासको व्यवस्था गर्न प्रदेश सरकारले सञ्चालन गर्दै आएको ‘जनता आवास कार्यक्रम’ मार्फत् जिल्लाको आठ वठै स्थानीय तहमा गरी ३५९ वटा नयाँ घर निर्माण गर्ने लक्ष्य लिएको हो ।

जनता आवास जिल्ला समन्वय समितिका संयोजक तथा प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठले दिएको जानकारी अनुसार अब छिट्टै मापडण्डभित्र पर्ने घरधनीको छनौटको काम थालिने छ । घर छनौट गर्ने काम स्थानीय तहले गर्ने श्रेष्ठले जानकारी दिए । यसअघि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाले कार्यक्रम हेर्दै आएकोमा यस वर्षबाट पूर्वाधार विकास कार्यालय नवलपरासी पूर्वले कार्यक्रम हेर्ने जिम्मेवारी पाएको छ । समितिको बैठक बसेर कामलाई तीव्रता दिने र स्थानीय तहलाई छनौट गर्ने जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको श्रेष्ठले बताए । तर, सोही बजेटमा घर निर्माण सम्पन्न गर्न सकिने अवस्था नरहने हुँदा थप बजेट माग गर्नुपर्ने उनको भनाइ छ ।

गत वर्षकै निर्माणको चरणमा रहेका घरलाई पनि चालु आर्थिक वर्षकै बजेटबाट रकम दिनुपर्ने भएकाले अहिले थप भएका घरलाई रकम अभाव हुने श्रेष्ठले बताए । बैठकमा अहिले बिनियोजन गरिएको बजेट अपुग हुने गुनासो आएकाले काम थालनी गरेर थप बजेट माग गरी कामलाई तिब्रता दिने सहमति भएको श्रेष्ठको भनाइ छ ।

पूर्वाधार विकास कार्यालय नवलपरासी पूर्वका प्रमुख रविन्द्र तिवारीका अनुसार गत वर्षकै ८३ वटा घर, निर्माणकै चरणमा छन् । बाँकी रहेका घरधनीले पनि केहीले तेस्रो, केहीले चौथो किस्ता बुझ्न बाँकी छ । गत वर्ष जिल्लामा कार्यक्रम मार्फत् १६० वटा घर छनौट भएका थिए । कोरोना संक्रमण ( कोभिड – १९) का कारण कार्यक्रम पनि प्रभावित हुन पुगेको तिवारीको भनाइ छ । यसअघि गोरखाबाट काम हुँदै आएकोमा यस वर्षबाट पूर्वाधारले हेर्नुपर्ने भएकाले सबै कुरा बुझ्न र आवश्यक समन्वय गरेर काम अगाडि बढाउनुपर्ने हुँदा केही ढिलाइ हुन पुगेको उनले बताए ।

कार्यक्रमअन्तर्गत आवास निर्माणका लागि मापदण्ड पुगेका घरधनीलाई भूकम्प प्रतिरोधात्मक, टिनले छाएको पक्की दुई कोठे घर निर्माण गर्ने गरी प्रति घर साढे तीन लाख रुपैँया प्रदान गरिएको तिवारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>