अन्तर्राष्ट्रिय
सारा विश्वले बाइडेनलाई बधाई दिइरहँदा रुस किन मौन ?

काठमाडौं, कार्तिक २४-
विश्वका राष्ट्रप्रमुखले अमेरिकाको राष्ट्रपति पदमा विजयी भएकामा जो बाइडनेलाई बधाई दिए तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अझै कुनै प्रतिक्रिया जनाएका छैनन्।
विश्वका अधिकांश मुलुकको नेतृत्वले राष्ट्रपतिमा विजयी बाइडेनलाई शुभकामना दिएपनि राष्ट्रपति पुटिनले प्रतिक्रिया नजनाउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्याहरुले जनाएका छन् । राष्ट्रपति पुटिनले वाइडेनलाई वधाई दिन न कुनै ट्वीट गरेका छन्, न टेलिफोन गरेका छन्, न त कुनै वधाई सन्देशसहितको चिठी पठाएका छन् ।
यसैबीच रुसी सरकारी समाचार च्यानलले भने उल्टै अमेरिकी निर्वाचनमाथि प्रश्न उठाउँदै कडा आलोचना गरेको छ ।
रुसको सरकारी टेलिभिजन च्यानलमा विवादित प्रस्तोता दिमित्री किसलेभले अमेरिकाको चुनावका विषयमा धेरै प्रश्न उठाएका छन्।
उनले आफ्नो साप्ताहिक कार्यक्रममा भने, ‘अमेरिकी चुनाव प्रणाली यति पुरानो छ कि डायनोसरजत्तिकै। म यसलाई लोकतान्त्रिक प्रणाली मान्न सक्दिनँ।’
किसलेभले अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई हराउन जो बाइडेन पक्षले चुनावमा धाँधली गरेको आरोप लगाइरहेको कुरा पनि उल्लेख गरे ।
रसियामा किसलेवलाई पश्चिमी देशहरुकाविरुद्ध बोल्ने कार्यक्रम सञ्चालक भनेर चिनिन्छ ।

























