मकवानपुर

मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट

Banner

बागमती, साउन ८ –

जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कार्यालयबाट प्रदान गरिने सबै सेवा एकद्वार प्रणालीबाट दिन सुरु गरेको छ ।

राज्यबाट आम जनतालाई प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यका साथ एकै ठाउँबाट सेवा लिन सक्ने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।

“जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सबै सेवाका लागि अब सेवाग्राहीले कोठाकोठा धाउनुपर्ने अवस्था अन्त्य गरेका छौँ”, उहाँले भन्नुभयो, “सेवाग्राहीले एकै ठाउँबाट आफ्नो काम सम्पन्न गरी फर्कन सक्ने व्यवस्था मिलाइएको छ ।”

कार्यालयले सहायता कक्षमार्फत् कर्मचारीलाई आलोपालो खटाइ सेवाग्राहीको जिज्ञासा तथा गुनासो सम्बोधन, विषयगतरुपमा सेवा प्रदान गर्ने फाँटबारे जानकारी, सेवाग्राहीले भर्नुपर्ने फाराम तथा लेख्नुपर्र्ने निवेदन लेख्न सहजीकरण गर्दै आएको छ ।

असक्त, अपाङ्ग, ज्येष्ठ नागरिक, गर्भवती महिलालाई प्राथमिकताका साथ छिटो सेवा उपलब्ध गराउन नागरिक सहायता कक्ष स्थापना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

राहदानी, राष्ट्रिय परिचयपत्र एवम् अन्य सेवा लिन आउने सेवाग्राहीको लागि नागरिक सहायता कक्षबाट निःशुल्क रूपमा फाराम भर्ने व्यवस्था तथा राहदानी बनाउन आवेदन गर्ने सम्बन्धित सेवाग्राहीको घरमै पुगी राहदानी वितरण गर्ने कार्यको समेत थालनी समेत गरेको छ ।

गत आर्थिक वर्ष २०८२/०८३ को पछिल्लो त्रैमासिक अवधिमा जिल्ला प्रशासन कार्यालयले वंशजको आधारमा चार हजार आठ जनालाई नयाँ नागरिकता, सात जनालाई वैवाहिक अङ्गीकृत नागरिकता, १० जनालाई अङ्गीकृत नागरिकता, नौ जनालाई गैरआवासीय नागरिकताका साथै तीन हजार १७६ प्रतिलिपि नागरिकता उपलब्ध गराएको जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>