विचार/ब्लग

व्यावहारिक एवम् जीवनोपयोगी शिक्षाः नेपालको शैक्षिक रूपान्तरणको प्रमुख आधार

Banner

✍️ नविन खनाल-

नेपालको शैक्षिक प्रणाली र सुधारबारेको बहस नयाँ भने होइन । दशकौँदेखि शैक्षिक नीति, पाठ्यक्रम, शिक्षण विधि र सिकाइ उपलब्धिबारे विभिन्न प्रश्नहरू उठ्दै आएका छन् । संविधानले प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षाको अधिकार सुनिश्चित गरेको छ भने सरकारले विद्यालय शिक्षा सुधारका लागि विभिन्न नीति तथा कार्यक्रम ल्याउँदै आएको पनि छ । तर, व्यवहारमा हेर्दा अझै पनि शिक्षाले विद्यार्थीलाई उसको जीवन, रोजगारी र समाजसँग पर्याप्त रूपमा जोड्न सकेको छैन भन्ने गुनासो व्यापक रूपमा सुनिन्छ । यही कारण आज शिक्षा व्यवहारिक र जीवनोपयोगी हुनुपर्छ भन्ने विषय नेपालका लागि अत्यन्त सान्दर्भिक बनेको छ ।

शिक्षाको मूल उद्देश्य केवल परीक्षा उत्तीर्ण गराउनु वा प्रमाणपत्र दिलाउनु मात्र होइन । शिक्षाले व्यक्तिलाई सोच्न, समस्या समाधान गर्न, नैतिक निर्णय लिन, सीप विकास गर्न, निर्णय क्षमता बढाउन, आत्मनिर्भर बन्न र समाजप्रति नागरिक उत्तरदायी र जवाफदेही हुनको लागि हो । तर नेपालको विद्यालय शिक्षामा अझै पनि धेरै स्थानमा रटाइमुखी वा घोकन्ते खालकै देखिन्छ । विद्यार्थीले पाठ सम्झन्छन्, परीक्षा दिन्छन्, राम्रो अंक पनि ल्याउँछन्, तर वास्तविक जीवनमा ती ज्ञान र सीपको प्रयोग गर्ने अवसर र क्षमता भने सीमित रहन्छ वा प्रयोगहिन हुन पुग्दछ ।

यस बिकराल अवस्थालाई अन्तर्राष्ट्रिय अध्ययनहरूले पनि केही हदसम्म संकेत गरेका छन् । नेपालको साक्षरता दर पछिल्ला दशकहरूमा उल्लेखनीय रूपमा बढेर करिब ७६ प्रतिशत पुगेको छ । विद्यालय भर्ना दर पनि प्राथमिक तहमा निकै उच्च देखिन्छ । यद्यपि, साक्षरता बढ्दै जानु र गुणस्तरीय, जीवनोपयोगी शिक्षा प्राप्त हुनु एउटै कुरा होइन । उच्च शिक्षा पूरा गरेका हजारौँ नेपाली युवाले रोजगारीको खोजीमा विदेश जानु वा आफ्नो अध्ययनसँग मेल खाने काम गर्न बाध्य हुनु हाम्रो शिक्षा र श्रमबजारबीचको दूरी हो ।

नेपालबाट हरेक वर्ष ठूलो संख्यामा विद्यार्थी उच्च शिक्षा तथा रोजगारीका लागि विदेश जाने गरेका छन् । वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या पनि लाखौँमा छ । यसले एकातिर अवसरको खोजी देखाउँछ भने अर्कोतिर स्वदेशमै सीपयुक्त रोजगारी सिर्जना र व्यवहारिक शिक्षाको आवश्यकता पनि उजागर गर्छ । यदि विद्यालय र विश्वविद्यालयबाटै उद्यमशीलता, प्रविधि, कृषि नवप्रवर्तन, वित्तीय साक्षरता, डिजिटल सीप र समस्या समाधान गर्ने क्षमता विकास गर्न सकियो भने धेरै युवाले स्वदेशमै रहेर अवसर सिर्जना गर्न सक्ने सम्भावना बढ्छ ।

अर्को महत्त्वपूर्ण पक्ष विद्यालयको सिकाइ प्रकृया हो । आज पनि धेरै विद्यार्थी भारी पुस्तक, कापी र अनावश्यक गृहकार्यको दबाबमा छन् । शिक्षाको उद्देश्य विद्यार्थीलाई ज्ञानको बोझ बोकाउने होइन, ज्ञानलाई जीवनसँग जोड्न सिकाउने हो । उदाहरणका लागि, विज्ञान पढ्दा प्रयोगशालामा प्रयोग गराउने, गणित पढ्दा दैनिक जीवनका आर्थिक हिसाबसँग जोड्ने, कृषि पढ्दा विद्यालयमै नमुना खेती गर्ने, वातावरण शिक्षा पढ्दा वृक्षारोपण र फोहोर व्यवस्थापनमा सहभागी गराउने तथा सामाजिक शिक्षा पढ्दा स्थानीय समुदायका समस्या अध्ययन गराउने अभ्यासले सिकाइलाई अझ प्रभावकारी बनाउन सकिन्छ ।

विश्वका सफल शिक्षा प्रणाली भएका देशहरूले पनि यही बाटो अपनाएका हुन्छन् । उदाहरणका लागि, फिनल्यान्डमा विद्यार्थीमाथि अत्यधिक परीक्षा र गृहकार्यको दबाब कम छ । त्यहाँ सहकार्य, सिर्जनशीलता, समस्या समाधान र विद्यार्थीको समग्र विकासलाई उच्च प्राथमिकता दिइन्छ । सिङ्गापुरले विज्ञान, प्रविधि, गणित र नवप्रवर्तनलाई विद्यालयस्तरदेखि नै व्यवहारिक अभ्याससँग जोडेको छ । जर्मनीको द्वैध व्यावसायिक शिक्षा प्रणालीले विद्यार्थीलाई पढाइसँगै उद्योग तथा व्यवसायमा व्यावहारिक प्रशिक्षण दिने व्यवस्था गरेको छ । यी उदाहरणहरूले देखाउँछन् कि शिक्षा जीवनसँग जोडिँदा मात्र राष्ट्रको उत्पादनशील एवं प्रगतिशील जनशक्ति निर्माण हुन्छ, अन्यथा निकम्मा सावित हुन्छ ।

नेपालमै पनि केही वर्ष यता केही सकारात्मक कदम र अभ्यासहरू देखिएका छन् । केही विद्यालयहरूले रोबोटिक्स, कोडिङ, कृषि परियोजना, उद्यमशीलता शिक्षा, सामुदायिक सेवा, पुस्तकभन्दा बाहिरको परियोजनामूलक सिकाइ तथा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेका छन् । यस्ता अभ्यास विस्तार गर्न सकियो भने मात्र विद्यार्थीको सिर्जनशीलता, नेतृत्व क्षमता र आत्मविश्वास उल्लेखनीय रूपमा बढ्न सक्छ ।

आजको विश्व कृत्रिम बुद्धिमत्ता (ए. आइ), स्वचालन (अटोमेशन), डिजिटल अर्थतन्त्र र हरित प्रविधितर्फ तीव्र गतिमा अघि बढिरहेको छ । यस्तो समयमा केवल पाठ्यपुस्तकमा सीमित शिक्षा पर्याप्त हुँदैन । भविष्यमा नागरिकलाई आलोचनात्मक सोच , सञ्चारकला, नेतृत्व, टोलीमा काम गर्ने क्षमता, डिजिटल साक्षरता, भावनात्मक बुद्धिमत्ता, वित्तीय व्यवस्थापन, उद्यमशीलता र जीवन व्यवस्थापनका सीप आवश्यक पर्छन् । यसकासथै अनुशासन र संस्कारजस्ता विषयहरुलाई जोड दिनु पनि अत्यन्त आवस्यक छ । यी विषयलाई विद्यालय तहदेखि नै पाठ्यक्रम र शिक्षण प्रक्रियामा प्रभावकारी रूपमा समावेश गरिनुपर्छ ।

शिक्षा सुधारको जिम्मेवारी सरकार, शिक्षक, विद्यालय, अभिभावक र समुदाय सबैको साझा दायित्व हो । सरकारले नीतिगत स्थायित्व, शिक्षक तालिम, आधुनिक पाठ्यक्रम, प्रयोगशाला, पुस्तकालय र डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्छ । शिक्षकले रटाइभन्दा खोज, अनुसन्धान, छलफल र परियोजनामूलक सिकाइलाई प्राथमिकता दिनुपर्छ । अभिभावकले पनि केवल अंकको प्रतिस्पर्धाभन्दा बालबालिकाको सीप, चरित्र र रुचिको विकासमा ध्यान दिन आवश्यक देखिन्छ ।

कुनै पनि राष्ट्रको भविष्य त्यहाँको शैक्षिक प्रणालीले निर्माण गर्छ । यदि शिक्षा केवल प्रमाणपत्र उत्पादन गर्ने माध्यम बनिरह्यो भने यसले बेरोजगारी दर बढाउनुका साथै सीप अभाव र प्रतिभा पलायनको समस्या झन् पेचिलो बन्न सक्छ । तर यदि शिक्षा व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक, नैतिक र सिर्जनशील बनाइयो भने त्यही शिक्षा राष्ट्र निर्माणको सबैभन्दा बलियो र विश्वासिलो आधार बन्न सक्छ । नेपाललाईाललाई अब केवल धेरै विद्यालय वा धेरै प्रमाणपत्र भएका नागरिक होइन, सीपयुक्त, चरित्रवान, नवप्रवर्तनशील, आत्मनिर्भर र जिम्मेवार नागरिक चाहिएको छ । नेपालका विद्यालय, शिक्षालय र विश्वविद्यालयहरु अब केवल बेरोजगारी जनशक्ति उत्पादन गर्ने कम्पनी जस्तो बन्नु हुँदैन बरु आत्मनिर्भर र सक्षम नागरिक उत्पादन गर्न सक्ने केन्द्रको रुपमा प्रस्तुत हुनुपर्दछ । त्यसका लागि शिक्षालाई पुस्तकको घेराभन्दा बाहिर निकालेर जीवनसँग जोड्नुपर्ने समय आएको छ । जब विद्यार्थीले विद्यालयमा सिकेको ज्ञान आफ्नो परिवार, समाज, व्यवसाय र राष्ट्रको विकासमा प्रत्यक्ष प्रयोग गर्न सक्नेछन्, तब मात्र शिक्षाले आफ्नो वास्तविक उद्देश्य पूरा गरेको मानिनेछ । नेपालको समृद्ध भविष्यका लागि यही नै आजको सबैभन्दा ठूलो शैक्षिक आवश्यकता हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>