मनोरञ्जन
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’

काठमाडौँ, साउन ८ –
‘आज आमैले किन्देको नौरती फुली, भोलि मैसँग होला कि न होला ? आज माइतीले छान्देको नौरङ्गे चोली भोलि मैसँग होला कि न होला ।’
गायिका एलिना चौहानले हालै सार्वजनिक गर्नुभएको ती शब्दसहितको यो तीज गीतले दर्शक र स्रोताको मन जितेको छ । गीतको चर्चासँगै सामाजिक सञ्जाल फेसबुकमा उहाँको सिर्जनाको समेत दर्शकले खुलेर प्रशंसा गरेका छन् । गीत भनेको त यस्तो हुनुपर्छ भन्दै ‘लभ’ र ‘लाइक’को ‘थम्स्’सहितको प्रतिक्रिया दिनेहरुको सङ्ख्यामा लाखौँ छ ।
हरितालिका तीज आउन अझै डेढ महिना बाँकी छ । यही मेसोमा कलाकारले तीजका गीतका म्युजिक भिडियो धमाधम बनाउँदै युट्युबमा राख्दै आएका छन् । तीज जसरी महिलाका लागि उत्सवको पर्व मानिन्छ उसैगरी कलाकारलाई आफ्नो सिर्जना देखाउने र धन आर्जन गर्ने सुन्दर अवसर बनेको छ । गायिका चौहानसहित उक्त गीतमा रचना रिमाल, मेलिना मैनाली र दीपिका बयम्बुको समेत स्वर रहेको छ ।
केही कलाकारले पुराना गीतलाई नै नयाँ शैलीमा पस्किनुभएको छ । गायिका सुनिता दुलालले सिडी र क्यासेटको युगमा बनाएको गीत ‘अब त मैले नि झुम्का लगाउँछु।।।’ फेरि नयाँ शैलीमा प्रस्तुत गर्नुभएको छ । दर्शकमाझ आफूलाई चर्चामा ल्याएको गीत यही भएकाले डिजिटल रुपमा जीवन्त राख्न पुनः नयाँ शैलीमा रेकर्ड गरेको उहाँले बताउनुभयो । “पछिल्लो समय कलाकारले डिजिटल प्लेटफर्मले आम्दानी र पहिचान बनाउन सजिलो भएको छ”, उहाँले भन्नुभयो, “दर्शकले रिमेक गरेको गीत पनि मन पराउनुभएको छ । खुसी छु ।”
युवा पुस्ताको स्वादअनुसारको गीत बनाउनु पर्ने मान्यताबाट प्रभावित भएका गायक आशीष अविरलले १५ वर्ष पुरानो गीत ‘सुनको चुरा औँठी नि सुनकै छ‘’ गीतको आधुनिक शैली (रिमेक) मा पस्किनुभएको छ । गायत्री थापाको शब्द रहेको त्यस गीतलाई देवी घर्ती र रामजी खाँडले गाउनुभएको थियो । अहिले रिमेकमा गायक अविर र गायिका मेलिना राइले स्वर भर्नुभएको छ ।
गीतको भाव र शब्द मीठास भएकाले अहिलेको पुस्तालाई नयाँ शैलीमा सुनाउन गीतको रिमेक गरिएको गायक अविरलले बताउनुभयो । उहाँले भन्नुभयो, “अचेल युवा ‘फास्ट ट्रयाक’का गीत मन पराउँछन् । हामीले नयाँ पुस्तालाई लक्षित गरी गीत ‘रिमेक’ गर्यौँ ।” उक्त गीतको म्युजिक भिडियोमा प्रकाश सपुत र उषा उप्रेतीको अभिनय रहेको छ ।
गायिका रितु कँडेलले प्रत्येक तीजमा एउटा नयाँ गीत रेकर्ड गर्नुहुन्छ । उहाँले सधैँ एकल स्वरमा निकाल्ने तीज गीत अहिले पुरुष गायकसँग सहकार्य गरेको बताउनुभयो । गायिका कँडेलका अनुसार विगतमा भन्दा अहिले पुराना र मौलिक भाकाका गीत सिर्जना गर्ने परिपाटी छ । यद्यपि सङ्गीत संयोजन समय सापेक्ष बनाए पनि शब्द चयनमा मौलिकता खोज्न थालिएको उहाँको अनुभव छ ।
डिजिटल युगले कला र संस्कृतिको सौन्र्दय व्यापक बनाउन सघाएको पनि गायिका कँडेलको बुझाइ छ । रितुले रिल्स र टिकटक प्लेटफर्ममा गीत राखेर धेरै दर्शकको मन जित्न सकिएको भएपनि यसको नकारात्मक असरसमेत रहेको बताउनुभयो । “अचेल डिजिटल प्लेटफर्मले कोठामा र मोबाइलमा तीज पर्व सीमित भएको छ”, उहाँले भन्नुभयो, “तर कलाकारका लागि भने डिजिटल प्लेटफर्म आयआर्जनको प्रभावकारी स्रोत बनेको छ ।”
गायिका लक्ष्मी न्यौपाने तीज गीतमा मौलिकता र सांस्कृतिक पक्ष झल्किनु पर्ने मान्यता राख्नुहुन्छ । त्यसैले उहाँले विगतमा निकाल्दै आउनुभएका गीतमा गाउँ घरको परिवेश, चेलीबेटीको वेदना र माइतीको सम्झनाका भावनाहरु समेटिएका हुन्छन् । गत वर्ष ‘म त मसक्कै….’ शीर्षकको गीत निकाल्नुभएको उहाँले यो वर्ष पनि मौलिक भाका र लय झल्किने तीज गीत सार्वजनिक गर्ने तयारीमा हुनुहुन्छ ।
हरेक वर्ष तीज गीतले नयाँ कलाकारसमेत जन्माउँछ भने पुराना गायक गायिकाले अनिवार्य रुपमा गीत सिर्जना गर्ने परम्परा बसेको देखिन्छ । त्यसमा कलाकारहरु विष्णु माझी, शान्तारानी परियार, शान्तिश्री परियार, कोमल वली, सिन्धु मल्ललगायतका गायिकाको गीत सुन्न दर्शक उत्साहित देखिन्छ ।
यति मात्रै होइन, तीज गीतमा पुरुष कलाकारको रोजाइ पनि उत्तिकै आर्कषक बन्दै गएको छ । सात वर्ष अघि गायक दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा…’ बोलको तीज गीतले निकै लोकप्रियता कमाएको थियो । यस वर्षको तीजमा भने दुर्गेशको गीत अलिक फरक छ । ‘बर्खे झरीमा यसपालीको तीजमा नाचौँ नाचौँ हो, हजुर रातो सारीमा‘’ बोलको तीज गीतमा दुर्गेश आफैँ महिलाको वेशभूषामा देखिनुभएको छ । साथै अभिनेत्री प्रियंका कार्कीको समेत नृत्य रहेको छ ।
यसैगरी, तीज गीत पस्किने गायक पुरुषमा खेम सेन्चुरी, पशुपति शर्मा, अर्जुन सापकोटालगायत कलाकार रहेका छन् ।
युट्युबमा यो वर्ष अन्जिता विश्वकर्माको स्वरमा रहेको गीत ‘पराइको शासन’ ले नारी वेदना बुनेको छ । ‘एक धर्को सिन्दुरले बन्धनमा पार्यो आमा…’ बोलको गीतले सामाजिक बन्धनमा परेको चेलीले अधिकारका लागि विद्रोह गरेर स्वतन्त्र हुने आँट गरेको दृश्यसमेत भिडियोमा देख्न सकिन्छ ।
त्यस्तै, वैदेशिक रोजगारमा जानुपर्ने छोराको बाध्यता र विवाह गरेर माइती घर छोड्नुपर्ने छोरीका परम्परागत नियतीमाथि पनि तीजका गीत रचिएका छन् । तीज गीतको परम्परागत दायरा पछिल्लो समय फराकिलो हुँदै गएको कलाकारहरुको धारणा छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रीता थापामगरका अनुसार तीज पर्व नेपाली नारीहरूको महान पर्व हरितालिका तीजसँग जोडिएको एक विशिष्ट लोक सांस्कृतिक विधा हो । उहाँले तीज गीतको प्रारम्भ यही कालबाट भएको हो भन्ने यकिन नभएपनि महिलाका वेदना र मुक्तिको अभिव्यक्ति पौराणिक संस्कृति रहेको बताउनुभयो । उहाँले विगतमा तीज गीतमार्फत समाजमा पितृसत्तात्मक व्यवस्थाले महिलामाथि पारेको दमन, घरपरिवारको हेला, माइतीप्रतिको सुदूर स्नेह र वेदनालाई गीतका माध्यमबाट पोख्ने चलन रहेको सुनाउनुभयो ।
साउने सङ्क्रान्तिको विधि पूरा गरिसकेपछि तीज गीत गाउन थाल्ने मौलिक परम्परा भएपनि अचेल आधुनिकतासँगै तीज गीतका स्वरूपमा केही परिवर्तन आएको प्रतिष्ठानका अध्यक्ष मगरले बताउनुभयो ।
“यसलाई दुई तरिकाले हेर्न सकिन्छ, पहिलो त महिला केबल पीडा र वेदना मात्र होइन, आफ्ना अधिकार, सफलता, र चेतसम्बन्धी विषय पनि गर्वका साथ प्रस्तुत गर्न थालेका छन्”, उहाँले भन्नुभयो, “अर्कोतर्फ भद्दा पहिरन, सतही शब्द र केबल सस्तो मनोरञ्जन, भाइरल हुने रहर वा युट्युब भ्युज कमाउने होडबाजी नै चलेको छ ।” त्यसका निम्ति द्विअर्थी शब्द, अश्लील प्रस्तुति वा जसरी पनि चर्चामा रहने ‘अटेन्सन सिकर’ प्रवृत्तिले विकृति पनि ल्याएको उहाँ स्वीकार गर्नुहुन्छ ।
प्रतिष्ठानका अध्यक्ष मगरका अनुसार एकाध गीत बाहेक अधिकांश गीतको मौलिकता हराउँदै गएर पप, ¥याप वा डिजे शैलीको प्रभाव बढेको छ । तीजको गरिमा र पवित्रतामा आँच आउनुले सांस्कृतिक चिन्ताको विषय बढ्दै गएको उहाँको धारणा छ । प्रतिष्ठानले तीज गीत मात्र नभएर सम्रग्र विकृत सङ्गीतले समाजमा पार्ने प्रभाव र यसलाई विकृतिमुक्त बनाउन यथेष्ट प्रभावकारी कदमहरु चाल्दै आइरहेको पनि छ ।
प्रतिष्ठानले समय–समयमा औपचारिक विज्ञप्ति जारी गर्दै दोहोरी साँझ, मेला, महोत्सव टिकटक तथा अन्य सामाजिक सञ्जालमा प्रयोग हुने अमर्यादित, भद्दा र उच्छृङ्खल शब्द तथा दृश्यहरू तुरुन्त बन्द गर्न कडा आग्रह गर्दै आएको अध्यक्ष मगरले प्रष्ट पार्नुभयो ।
“आफ्ना आबद्ध कलाकार, सर्जक, सङ्गीतकर्मीलाई पेसागत आचारसंहिता पालना गर्न सचेत गराएको छ र कारबाहीसमेत गरेको छ”, उहाँले भन्नुभयो ।
त्यस्तै, प्रतिष्ठानले डिजिटल माध्यम र सार्वजनिक मञ्चमा देखिएका अश्लीलतालाई नियन्त्रण गर्न गृह मन्त्रालय, साइबर ब्युरो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गर्दै कानुनी दायरामा ल्याएको पनि उहाँले बताउनुभयो । यसैगरी नजिकिँदै गरेको तीज लक्षित सिर्जनाको मौलिकता, यसको सामाजिक, धार्मिक महत्वका साथै प्रभावका सम्बन्धमा कलाकारलाई सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको उहाँले जानकारी दिनुभयो । रासस

























