नवलपुर

नवलपुरको देवचुलीमा ३४ कोठे विद्यालय भवन उद्घाटन

Banner

नवलपुर, कात्तिक १८-

नेपाल–भारतमैत्री विकास सहयोगअन्तर्गत नवलपुरको देवचुलीमा निर्माण गरिएको ३४ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ ।

देवचुली नगरपालिका–७ रामबासस्थित भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा निर्माण गरिएको ३४ कोठे ‘नेपाल–भारतमैत्री’ भवनको सोमबार उद्घाटन गरिएको हो ।

दुई करोड ५८ लाख ३० हजार लागतमा निर्माण गरिएको नेपाल–भारतमैत्री भवन निर्माणका लागि विसं २०६९ पुसमा सम्झौता भएर २०७० असारमा शिलान्यास गरिएको थियो । भारतीय सहयोगमा निर्माण गरिएको तीन तले भवनमा १६ वटा कक्षा कोठा, प्रयोगशाला, प्रशासन, बैठक कोठा, चमेनागृह तथा मेडिकल कक्षसमेतका कोठा निर्माण गरिएका छन् । गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहासहित जनप्रतिनिधि तथा भिडियो कन्फ्रेन्समा जोडिनुभएका भारतीय राजदूतावासका काउन्सिलर डा प्रफुल्लतचन्द्र शर्माले संयुक्तरुपमा विद्यालय भवनको उद्घाटन गर्नुभएको हो ।

विद्यालय भवन उद्घाटनका क्रममा काउन्सिलर शर्माले विद्यालयको भौतिक पूर्वाधार थपिँदै जाँदा सार्वजनिक विद्यालयमा शिक्षाको भौतिक पूर्वाधार सुधारको लागि नेपाल सरकारको प्रयासलाई सार्थक बनाउने बताउनुभयो । कक्षा १२ सम्म अध्ययन हुने सो विद्यालयमा ५५ प्रतिशतभन्दा बढी छात्रा अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक नरदेव न्यौपानेले बताउनुभयो । नयाँ भवन उद्घाटन भएसँगै सूचना र प्रविधिको माध्यमबाट पढाइ गराउन सहज हुने भन्दै विद्यालयको शिक्षालाई ‘डिजिटलाइज’ गरिने न्यौपानेले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>