Breaking News

नारायणगढ-बुटवल सडक विस्तारः धमाधम रुख कटान गरिदै

Banner

गैडाकोट,असोज २८-

कोरोना संक्रमणले रोकिएको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामले गति लिन थालेको छ । लामो समयको बन्दाबन्दीका कारण प्रभावित बनेको सडक विस्तारको कामलाई निरन्तरता दिईएको हो । पूर्व र पश्चिम दुई खण्डमा विभाजन गरि काम काम सुरु गरिएको छ । पूर्व खण्ड अन्तरगत गैडाकोटदेखि दाउन्नेसम्मको क्षेत्र अन्तरगत पर्ने कावासोती नगरपालिका १६ डण्डाबाट सडक छेउमा रहेका रुख कटान गर्ने काम तिब्र पारिएको छ ।

सडक छेउमा पर्ने मध्यविन्दु सामुदायिक बन र सयपत्री सामुदायिक बन क्षेत्रका रुख कटान कार्य अघि बढाईएको आयोजनाका सुचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो । कोरोना संक्रमण फैलनुअघि गैडाकोटदेखि कावासोती बजारसम्मको रुख कटान गर्ने काम गरिएको थियो । बिजुलीका पोल सार्नु पर्ने बजार क्षेत्र र बन क्षेत्रमा छिटफुट बाहेक रुख कटान सकिएको छ । जिरोदेखि कावासोतीसम्म ३० किलोमिटर क्षेत्रमारुख कटान यसअघिनै सकिएको थियो । अहिले कावासोतीकै डण्डाबाट रुख कटान सुरु गरिएको छ । सडक बिस्तारका क्रममा यहाँ ४६ हजार २ सय ९४ हजार रुख काटिने आयोजनाले जनाएको छ ।

बन्दाबन्दी खुकुलो पार्दै सरकारले विकास निर्माणका काम गर्न सक्ने भनेपछि थोरै कामदार परिचालन गरि नाली सरसफाई, मर्मत सम्भारको साना काम गरिरहेको भएपनि दुईहप्ता अघिदेखि खाल्डाखुल्डी पुर्ने, सानो पुलहरुमा दुवैतर्फ डाईभर्सन निर्माण गर्ने, रुख कटान गर्ने र डिजाईनको काम भईरहेको आचार्यले बताउनुभयो । ठूलो पुलको काम पनि दशैतिहारपछि सुरु हुने उहाँको भनाई छ ।

‘अहिले ठूलो पूलको पूर्व तयारीको काम भईरहेको छ । कोरानाका कारण केहि ठूला इक्युमेन्ट आउन नसक्दा सुरु हुन सकेको छैन । हामिले कन्ट्याक्टरलाई भनिररहका छौँ । सम्भवतः दशैंतिहारपछि काम सुरु हुन्छ,’ आचार्यले भन्नुुभयो । ठूलो पूल निर्मण गर्न पहिला बिजुलीको पोल सार्नुपर्ने भएकाले त्यसका लागि आवश्यक तयारीको काम भईरहेको आचार्यको भनाई छ । दशैतिहारपछि पोल सार्ने काम लगत्तै पूल निर्माणको काम पनि अघि बढ्ने उहाँले बताउनुभयो ।

पूर्वी खण्डमा १२ वटा ठूलो पूल ( मेजर ब्रिज) र सानो २२ वटा ( माईनर ब्रिज ) बन्ने छ । अहिले ठूलो पूल भएको स्थानमा बुटवलबाट नारायणगढ आउदा देब्रे (बाँया तर्फ ) ११ वटा दुई लेनकै नयाँ पूल बन्नेछ भने दुम्किवासको ज्यामिरेको एउटा पूल मात्रै दाँया ( दाहिने तर्फ ) बन्ने आचार्यले बताउनुभयो । साना २२ वटा पूल सबै नयाँ बन्नेछन् ।

यसैगरि पहिलो खण्ड गैडाकोटदेखि दाउन्नेसम्मको जंगल क्षेत्रमा चार ठाउँमा जैविकमार्ग निर्माण गरिने आचार्यले जानकारी दिनुभयो । जंगली जनावार वारपार गर्नका लागि सडकमुनीबाट चार ठाउँमा (अन्डरपास ) बनाउने र दाउन्ने क्षेत्रमा सडक माथीबाट (ओभररपास ) निर्माण गरिने योजना छ । सडकबाट नै जनावार वारपार गर्दा दुर्घटनामा पर्न सक्ने भएकाले जनावारका लागि वैकल्पिक मार्गका रुपमा जैविक मार्ग निर्माण गरिने छ । ‘अन्डरपासका लागि हामिले केहिकेहि कल्बट नै प्रयोग गर्छौ भने केहि नयाँ बनाउछौ । दाउन्ने क्षेत्रमा ओभारपास गराउने योजना छ । तर फाईनल भैसकेको छैन । काम गर्दै जादा फाईनल हुन्छ । आोभरपास अहिलेसम्म नेपालमा बनेको छैन । दाउन्ने क्षेत्रमा बन्यो भने नयाँ कामको थालनी हुन्छ ।’ आचार्यले भन्नुभयो ।

नारायणगढ–बुटवल सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । ११४ किलोमिटर सडक खण्डको काम गैंडाकोट- दाउन्ने र दाउन्ने -बुटवल दुई खण्डामा विभाजन गरेर काम सुरु गरिएको हो ।

अहिले दुई लेन रहेको नारायणगढ बुटवल सडक खण्डलाई चार लेनको बनाउन लागिएको हो । दुई दुई लेनको बिचमा ‘ग्रीनरी’ सहितको सडक निर्माण हुने छ । तीन मिटरको बिच भागमा बिरुवा लगाईनेछ । हाल रहेको दुई लेनको सडक बिस्तापछी दुईतर्फ ७ ÷७ मिटरको हुनेछ । बजार क्षेत्रमा ‘सर्भिस लेन’ समेत निर्माण गरिने छ । सार्वजनिक सवारीले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाईने छ । दाउन्ने क्षेत्रमा भने तीन लेनको सडक निर्माण गरिने छ । उकालो तर्फ चढ्ने सवारीले प्रयोग गर्ने गरि दुई लेन र ओरालोमा उत्रिने सवारीले एक लेन प्रयोग गर्ने गरि तीन लेनको सडक निर्माण गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>