नवलपुर

देवचुलीका वडा कार्यालयहरुको धमाधम आफ्नै भवन बन्दै, ५ वटा वडाको अझै छैन भवन

Banner

ज्ञानु पंगेनी

नवलपुर, साउन ३०–

देवचुली नगरपालिकामा रहेका पाँच वटा वडा कार्यालय अझै भाडाको घरमा बस्नु परेको छ । यहाँ रहेका १७ वटा वडा मध्ये पाँच वटा वडा कार्यालय अझै भाडाको घरमा बस्नु परेको हो । अन्य १२ वटा वडाको आफ्नै भवन निर्माण भइसकेको छ । अन्य वडाहरुले पनि आफ्नै भवन निर्माण सुरु गरेका छन् ।

वडा नं.१५ ले भर्खर मात्रै कार्यालय निर्माण गरेको छ । शुक्रबार सो वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले रिबन काटेर सेवा सुरुवात गरि भवनको उद्घाटन गरेका छन् । स्थानीय सरकारको स्थापनापछि आफ्नै ठाउँबाट सेवा सुविधा पाइन्छ भन्ने नागरिकको विश्वासलाई पुरा गर्नका लागि नगरपालिकाले वडा—वडाबाट नै सेवा प्रदान गर्न भवन निर्माणलाई प्राथमिकतामा राखेको देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले बताइन्।

केही वडाहरु साविकको गाविस भवनबाट नै संचालनमा रहेको र बाँकी रहेका वडामा पनि भवन निर्माण गरि कार्यसम्पादन सुरु गरिसकिएको उनले बताइन्। तिवारीका अनुसार अब नगरपालिकामा वडा नम्बर २ ,३ ,१०, ११ र १३ नम्बर वडाले मात्रै आफ्नै भवनबाट सेवा संचालन गर्न बाँकी रहेको छ । वडा नम्बर २ को स्थानीय क्लबको भवनमा सारिदै छ भने, वडा नम्बर १० र ११ को भवन अन्तिम चरणमा पुगेको र १३ को डिपिसि गरिएको तिवारीले जानकारी दिइन् । अब वडा नम्बर ३ को मात्रै भवन बन्न बाँकी रहेको तिवारीले बताइन् ।

उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले देवचुली नगरपालिकाले वडा कार्यालको आफ्नै भवन निर्माणलाई प्राथमिकतामा राखेको बताए । सबै वडामा आफ्नै कार्यालय स्थापना गरी नागरिकले आफ्नै ठाउँबाट सहज रुपमा सेवा प्राप्त गर्न सकुन भन्ने उदेश्यले वडा कार्यालय स्थापनको काम तिब्र पारिएको बताए ।

देवचुली नगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष हरिभक्त भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष एवम प्रवक्ता डिलबहादुर खत्री, विभिन्न वडाका प्रतिनिधि, विभिन्न राजनितिक दलका प्रतिनिधी, संघसंस्थाका प्रतिनिधी लगायतको सहभागितामा कार्यक्रम भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>