समाज
कैलालीका कोरोना संक्रमित युवकको दोस्रो रिपोर्ट नेगेटिभ

धनगढी,बैशाख ६-
सुदूरपश्चिम प्रदेशमा हालसम्म देखिएका पाँच जना कोरोना संक्रमित मध्ये एकजना संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ। सेती प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीका अनुसार लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको हो ।
उनको रिपोर्ट नेगेटिभ आएपनि उनलाई अस्पतालको आईसोलेसनमै राखिएको छ । डाक्टर जोशीले भने–‘अहिले उनको एकचोटी मात्र नेगेटिभ आएको छ, लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गरिन्छ ।’
यस्तै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत अन्य चार जना कोरोना संक्रमितको अर्को रिपोर्ट पनि पोजेटिभ आएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीय भाउजू, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ वर्षीय महिलाको कोरोना रिपोर्ट फेरि पनि पोजेटिभ आएको डाक्टर जोशीले जानकारी दिए ।



























