प्रवास
नक्कली भिडियो कलमार्फत उत्तर कोरियाली ह्याकरले लुटे ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी

काठमाडौँ ,कात्तिक २७ –
उत्तर कोरियाली राज्य(समर्थित ह्याकरहरूले नक्कली भिडियो कल प्रयोग गरी सर्वसाधारणको पहिचान चोरी गर्दै ४० करोड अमेरिकी डलरभन्दा बढीको क्रिप्टोकरेन्सी लुटेका छन्। अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) का अनुसार पछिल्लो १८ महिनामा ९०० भन्दा बढी व्यक्तिहरू यस ठगीको सिकार बनेका छन्।
एफबीआईले यस साइबर आक्रमणको तरिकालाई फेसस्टिलरु नाम दिएको छ। एफबीआईका साइबर निर्देशक ब्रेट लेदरम्यानले उत्तर कोरियाली शासनले आफ्नो अवैध हतियार कार्यक्रम सञ्चालन गर्न यस्ता ठूला क्रिप्टोकरेन्सी चोरीबाट प्राप्त रकममा निर्भर रहने गरेको बताएका छन्।
विश्वको सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज बाइनान्स बाट नक्कली जागिरको अन्तर्वार्तामार्फत ६.३ अर्ब डलर चोरी भएको खुलासा भएको एक हप्तापछि यो नयाँ तथ्य बाहिर आएको हो। अमेरिकी कानुन कार्यान्वयन निकायहरूले बाइनान्स ह्याकमा पनि उत्तर कोरियाली समूहकै संलग्नता रहेको ठहर गरेका छन्, यद्यपि प्योङयाङले उक्त आरोप अस्वीकार गर्दै आएको छ।
कसरी गरिन्छ ठगी ?
अमेरिकी न्याय विभाग र एफबीआईका अनुसार ‘फेसस्टिलर’ ह्याकरहरूले विशेषगरी क्रिप्टोकरेन्सी, वेब-थ्री र ओपन-सोर्स सफ्टवेयर विकासको क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई लक्षित गर्छन्।
ठगीका लागि ह्याकरहरूले पहिले नक्कली वा ह्याक गरिएका सामाजिक सञ्जाल खातामार्फत पीडितलाई जुम, माइक्रोसफ्ट टिम्स वा गुगल मिट जस्तै देखिने नक्कली प्लेटफर्ममा भिडियो कलका लागि निम्तो दिन्छन्। कल सुरु भएपछि ह्याकरहरूले पीडितले चिनेका पुराना पीडितहरूको पहिले नै रेकर्ड गरिएको भिडियो चलाउँछन्, जसले गर्दा कल वास्तविक जस्तै देखिन्छ।
तर, कलको क्रममा अडियो (आवाज) नआएको जस्तो प्राविधिक समस्या देखाइन्छ। लगत्तै स्क्रिनमा अडियो फिक्स (मर्मत) गर्न एउटा लिङ्कमा क्लिक गर्न सन्देश आउँछ। उक्त लिङ्कमा क्लिक गर्नेबित्तिकै पीडितको डिभाइसमा मालवेयर (भाइरस) डाउनलोड हुन्छ। यसैमार्फत ह्याकरहरूले पीडितको कन्ट्याक्ट लिस्ट, एप्स र डिजिटल वालेटमा पहुँच बनाउँछन्। ह्याकरहरूले यस्ता भिडियो कलहरू गोप्य रूपमा रेकर्ड गरी पछि अरू नयाँ व्यक्तिहरूलाई झुक्याउन प्रयोग गर्ने गरेको अधिकारीहरूले बताएका छन्।
एफबीआईको लस एन्जलस कार्यालयका सहायक निर्देशक प्याट्रिक ग्रान्डीले यो प्रविधि अत्यन्तै प्रभावकारी रहेको र अनुभवी तथा सुरक्षाप्रति सचेत प्रविधि प्रयोगकर्तासमेत यसको जालमा पर्न सक्ने चेतावनी दिएका छन्।यसले परिचित भिडियो कन्फरेन्स प्लेटफर्म र व्यक्तिगत सम्बन्धप्रतिको विश्वासको दुरुपयोग गर्छ, उनले भनेका छन्। एजेन्सी
























