नवलपुर
नेपाल हिल्फे जमर्नीद्धारा २ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

ज्ञानु पंगेनी
नवलपुर, बैशाख २–
नेपाल हिल्फे जमर्नीले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट सुरक्षित रहनका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।
हेचर नेपाल कावासोती नवलपुरको पहलमा २ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नवलपुरका विभिन्न संघसंस्थालाई हस्तान्तरण गरिएको छ । हिल्फे जर्मनी संस्थाको नेपाल कार्यक्रम संयोजक श्यामराज पण्डितमार्फत ६० थान पीपीइ गाउन, ३ थान औषधि सहितको स्प्रे मेसिन, ३ बक्स स्यानिटाइजर र ५ सय थान मास्क प्रतिनिधिसभा सदस्य तिलक महतलाई हस्तान्तरण गरिएको थियो । सोही बेला ससंद महतले उक्त सामग्री सम्बन्धित संस्थाका प्रमुखहरुलाई हस्तान्तरण समेत गरेको हेचर नेपालका सचिब तिर्थ कँडेलले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी नवलपुर शाखालाई प्राप्त सामग्री एम्बुलेन्स चालकलाई प्रदान गरिने र मध्यविन्दु जिल्ला अस्पताल तथा कावासोती नगरपालिकालाई प्राप्त सामग्री स्वास्थ्यकर्मीलाई प्रदान गरिने सचिव कंडेलले बताए । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीमा आफ्नो ज्यान समेत जोखिममा राखी कार्य क्षेत्रमा खट्ने स्वास्थकर्मी तथा एम्बुलेन्स चालकले सुरक्षित भएर काम गर्न सकुन् भन्ने उद्देश्यले सामग्री प्रदान गरिएको उनले बताए ।
नेपाल हिल्फे जमर्नीले नवलपुरको जिल्ला अस्पतालको भवन निर्माण र प्राविधिक सामग्री सहयोग गर्नुका साथै रेडक्रस उपशाखा कावासोतीलाई एम्बुलेन्स समेत सहयोग गरेको थियो ।
























