नवलपुर
नवलपुरमा मानसिक स्वास्थ्य कार्यक्रम लागू हुने

ज्ञानु पंगेनी
नवलपुर, फागुन १३-
नवलपुरको चार स्थानीय तहमा सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम लागू हुने भएको छ ।
गण्डकी प्रदेश कार्यालय सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको आर्थिक सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वको आयोजनामा कार्यक्रम हुन लागेको हो । आज देवचुली नगरपालिकामा गरिएको स्वास्थ्यकर्मीका लागि नसर्ने रोग सम्बन्धी चार दिने तालिमको समापन कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका परिवार नियोजन सुपरभाइजर नारायणप्रसाद रेग्मीले कार्यक्रमबारे जानकारी दिए ।
कार्यक्रम सञ्चालन गर्नका लागि अहिले कार्यालयले प्रक्रिया गरिरहेको रेग्मीले बताए । जिल्लाका ८ स्थानीय तहमध्ये कुन पालिकामा मानसिक स्वास्थ्यको समस्या बढी छ त्यसको जानकारी लिएर मात्रै पालिका छनौट गर्ने रेग्मीले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत जिल्लामा रहेका मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट, सिनियर अहेब, अहेब, स्टाफ नर्स, अनमी, महिला स्वास्थ्य स्वयम् सेविकालाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम प्रदान गर्ने र उनीहरु मर्फत् मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरुको स्वास्थ्यलाई व्यवस्थापन गर्ने काम गरिने रेग्मीले बताए । नसर्ने रोगहरु मध्ये पछिल्लो समय मानसिक रोगले समेत जनस्वास्थ्यमा असर पारिरहेकाले यस किसिमको कार्यक्रम जिल्लामा पहिलोपटक सुरु गर्न लागेको रेग्मीको भनाइ छ ।
नसर्ने रोगहरुका बारेमा प्रदान गरिएको तालिम फागुन १० गतेबाट सुरु भएर मंगलबार सकिएको हो । नसर्ने रोगहरुमध्ये मुटु तथा रक्तनलीका रोग, मधुमेह, क्यान्सर र दम गरी चार प्रकारका रोगलाई प्राथमिकतामा राखेर स्वास्थ्यकर्मीलाई सचेतना प्रदान गरी उनीहरु मार्फत् नसर्ने रोगको न्यूनीकरण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशवप्रसाद चापागाईले बताए ।
तालिममा सहजीकरण गर्दै कावासोती नगरपालिकाका जनस्वास्थ्य निरीक्षक कृष्ण नागेलाले पछिल्लो समय खानपान र जीवनशैलीका कारण नसर्ने रोग लाग्नेक्रम वृद्धि भएको भन्दै खानपानमा ध्यान दिने र नियमित व्ययाम गर्ने र अरुलाई पनि यस बारेमा सचेतना जगाउन सहभागीलाई आग्रह गरे । नागेलाले नसर्ने रोगका बारेमा बिरामी र उनीहरुका आफन्तलाई कुनै पनि जानकारी सम्प्रेषण गर्दा के कस्ता कुरामा ध्यान दिन जरुरी छ ? कसरी सूचना सम्प्रेषण गर्ने ? कसरी उनीहरुमा उपचार गर्ने जस्ता विषयवस्तु माथि प्रकाश पारेका थिए । यस्तै उनले नसर्ने रोगको उपचारका लागि सरकारबाट दिइएको सेवा सुविधाको बारेमा समेत जानकारी दिँदै स्वास्थ्यकर्मीहरुले ती जानकारी बिरामी र उनका आफन्तलाई दिनुपर्नेमा जोड दिए ।
सरकाले विपन्न नागरिक औषधि उपचार कोष कायक्रमअन्तर्गत आठ प्रकारका कडा रोगहरुलाई उपचारको लागि आर्थिक सहयोग प्रदान गर्ने बताए । जसमध्ये मृगौला रोगका सम्बन्धमा स्वदेशमा मृगौला प्रत्यारोपण गर्ने भएमा अस्पताल मार्फत् चार लाखसम्म छुट , हेमोडायलासिस हप्तामा २ – ३ सेसन निःशुल्क , प्रति सेसनको दुई हजार ५०० सम्म र पेरिटोनियल डायलासिस मृगौला प्रत्यारोपण गर्ने अवधिसम्म निःशुल्क, तयारी र क्रस म्याच गर्नको लागि ५० हजारसम्म निःशुल्क र प्रत्यारोपण पश्चात औषधि सेवनका लागि एक लाखसम्म सरकारबाट व्यवस्था गरिएको नागेलाले जानकारी दिए । यसैगरी अन्य सात रोगहरुमा मुटु, क्यान्सर, हेड इन्जुरी , स्पाइनल इन्जुरी , अल्जाइमर्स,पार्किन्सर र सिकलसेल एनिमिया भएका बिरामीहरुले स्वदेशमा उपचार भएमा अस्पताल मार्फत् एक लाख बराबरको औषधि उपचार सेवा निःशुल्क रहेको समेत जानकारी दिए ।
तालिममा जिल्लाभरिका २५ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । तालिममा सैद्धान्तिक र प्रयोगात्मक तरिकाबाट स्वास्थ्यकर्मीलाई नसर्ने रोगको बारेमा जानकारी प्रदान गरिएको थियो । तालिममा जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशवप्रसाद चापागाईं , जनस्वास्थ्य निरीक्षक कृष्ण नागेला, डाक्टर नन्दलाल रानामगर र डाक्टर अर्मान मियाले सहजीकरण गरेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका ल्याब असिस्टेन्ट राम सिंहासन कुशवाहाले जानकारी दिए ।
























