चितवन विशेष
युरोपका प्राध्यापकले दिए सौराहामा शिक्षकलाई प्रशिक्षण

चितवन, माघ २५-
चितवनको सौराहामा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको बालमैत्री नमुना शिक्षण सिकाइ प्रशिक्षण सुरु भएको छ ।
सपना भिलेज सोसल इम्प्याक्टको आयोजनामा भएको तालिममा विदेशी प्राध्यापकहरुले १३ दिने तालिम दिँदै छन् । रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले तालिमको उद्घाटन गर्दै जिल्लामै नमुना पद्धतिको शिक्षण सिकाइ तालिम सबैका लागि प्रेरणा हुने बताइन् । उनले रत्ननगरले आफै बालमैत्री नगर निर्माणको अभियानलाई तीव्र पारेको अवस्थामा यो निकै उपयोगी हुने विचार राखिन् ।
सपना स्कुलका प्ले ग्रुपमा पढ्न आउने विद्यार्थीलाई कसरी समयानुकुल अध्यापन भन्ने बारेमा विशेष तालिम सुरु भएको हो । जिल्लाका अन्य विद्यालयका शिक्षकहरुलाई पनि तालिममा सहभागी बनाएको सपनाका कार्यक्रम निर्देशक सुजन बस्नतेले बताए । तालिममा बच्चालाई सिकाउने तरिका, उनीहरुको मनोविज्ञानलगायतका विषयमा शिक्षकलाई तालिम दिइने सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिए । उनले आफूहरु बालमैत्री शिक्षालाई ध्यानमा दिँदै गरिबका बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिइरहेको जानकारी दिए । तालिममा शिक्षकहरुलाई अवकाश प्राप्त गरेका विदेशी प्राध्यापकहरु ग्रीसका एल्सा र नेदरल्याण्डकी मारियसेले सहजीकरण गर्नेछन् ।
























