चितवन विशेष
सावधानी नअपनाउँदा पानीमा कोलीफर्म, चितवनको पानीमा सबैभन्दा बढी

चितवन,माघ २५-
सानो पटियानी खानेपानी आयोजना खैरहनीले समय समयमा भरतपुरमा आएर पानीको गुणस्तर परीक्षण गराउने गर्दछ । उसको बोरिङमा पानीको गुणस्तर ठीक हुन्छ । तर, उपभोक्ताको धारा सम्म पुग्दा दिसाजन्य पदार्थमा पाईने किटणु (कोलीफर्म) देखा पर्छ ।
“सानो पटियानी खानेपानी आयोजना खैरहनीबाट यो वर्ष पानीको गुणस्तर परीक्षण गर्नका लागि तीन वटा नमुना ल्याउनुभएको थियो । दुई वटामा कोलीफर्म देखियो” क्षेत्रीय पानी परीक्षण प्रयोगशाला भरतपुरका केमिष्ट योगेन्द्र नारायण देवले भने, “उपभोक्ताको धारामा कोलीफर्म भेटियो ।” चितवनका खानेपानी आयोजनाको मुहानमा कोलीफर्म कम देखिएपनि उपभोक्ताको धारामा पुग्दा बढी मात्रामा कोलीफर्म भेटिने गरेको देवले बताए ।
क्षेत्रीय पानी परीक्षण प्रयोगशाला भरतपुरको तथ्याङ्क अनुसार यो वर्ष मात्रै चितवनमा ६८ खानेपानी योजनाका पानीको नमूना परीक्षण गरिएकोमा १६ वटा आयोजनाका उपभोक्ताहरुको घरमा कोलीफर्म देखा परेको छ । त्यसमध्ये खैरहनीको ठुलो खोल्सा खानेपानीको मुहानमा मात्र कोलीफर्म भेटिएको उनले जानकारी दिए । अन्य स्थानका मुहानमा भने कोलीफर्म भेटिएको छैन ।
उपभोक्ताका धारामा पुगेपछि कोलीफर्म भेटिएको उनले बताए । यो चालु आर्थिक वर्षमा जगतपुर केरुङ्गा खानेपानी आयोजनाले पाँच वटा नमुना परीक्षण गराएकोमा चार वटामा कोलीफर्म भेटिएको छ । त्यस्तै जुटपानी खानेपानी आयोजनामा तीन मध्ये एक, चैनपुर कुसुमखोला आयोजनामा पाँचमध्ये दुई, अविनास एग्रो एण्ड पोल्ट्रिफर्म, विरेन्द्रनगर तेस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजना, भण्डारा शिखर बस्तीमा तीन मध्ये एक, फुजेलीटोल वाटर सप्लाईमा एक, काप्रेगौरी खोला धारामानीमा एकवटामा कोलीफर्म फेला परेको थियो ।
जुनियर प्रहरी अधिकृत शिक्षालय र नेपाली सेनाको ब्यारेकको पानीमा पनि कोलीफर्म देखा परेको देवले जानकारी दिए । तर उनीहरुले तत्काल पानी शुद्धिकरण गरेको उनको भनाइ छ । पाईपलाईन टुटफुट र धारा वरिपरी फाहोर हुँदा उपभोक्ताको धारामा कोलीफर्म बढी देखिएको उनले बताए ।
“मुहानमा पानीको गुणस्तर ठीक छ । तर, उपभोक्ताको घरसम्म जाने बाटोमा पाईप फुट्यो भने पनि देखा पर्न सक्छ ।” उनले भने, “त्यसकारण खानेपानी आयोजना र उपभोक्ताहरुले यसतर्फ ध्यान दिन आवश्यक ।” चितवनमा गत वर्ष क्षेत्रीय पानी परीक्षण प्रयोगशालाले चितवन जिल्लाका पाँच वटा खानेपानी आयोजना छनोट गरेर पानीको परीक्षण गरेको थियो । त्यसमध्ये, चार आयोजनामा कोलीफर्म देखा परेको थियो ।
शुक्रनगर खानेपानी आयोजना, माडी नगरपालिका ९ गोविन्दबस्ती खानेपानी आयोजना, विरेन्द्रनगरको अमृत खानेपानी आयोजना, माडी नगरपालिका १ द्रौपती खानेपानी आयोजनामा कोलीफर्म भेटिएको केमिष्ट देवले बताए । तर, उनीहरुलाई सचेत बनाएपनि अहिले पानीको शुद्धिकरण भैसकेको उनले बताए । उनका अनुसार चितवनको २० प्रतिशत खानेपानीमा कोलीफर्म भेटिने गरेको छ ।
बोरिङको पानीमा भन्दा पनि मूलको पानीमा बढी कोलीफर्म भेटिने गरेको छ । प्रयोगशलाले बागमती प्रदेशलाई कार्यक्षेत्र बनाएर काम गर्ने गरेको छ । त्यसबाहेक पश्चिम नवलपरासी, पूर्वी नवलपरासी र रुपन्देही जिल्लाबाट पनि पानी परीक्षण गराउन आउने गरेका छन् ।
गत आर्थिक वर्षमा यहाँ चार सय ४५ वटा पानीको नमूना परिक्षण गरिएको थियो । कार्यालयले १८ वटा पारामितिहरु प्रयोग गरेर पानीको परीक्षण गर्ने गर्दछ । त्यसमध्ये चितवनको पानीमा सबैभन्दा बढी कोलीफर्म नै देखा परेको छ । यहाँ धमिलोपना, हाईट्रोजन, आर्सेनिक, आईरन, क्रोमियम, एमोनिया, सल्फेट, तामा, नाइट्रेड, ईकोलीलगायतका तत्वहरुको परीक्षण गरिन्छ । त्यसमध्ये तराईको पानीमा आईरन बढी पाईने गरेको उनले बताए । ईकोली ब्याक्ट्रेरिया शुन्य हुनुपर्छ ।
कार्यालयले पानीको कोलीफर्म मात्र परीक्षण गरेको दुई सय ७५, आईरनको एक सय ९०, आर्सेनिकको तीन सय ५० रुपैयाँ शुल्क लिने गरेको छ । त्यसबाट गत वर्ष कार्यालयले चार लाख ७८ हजार चार सय ७५ रुपैयाँ राजश्व सङ्कलन गरेरको थियो । कोलीफर्म दिसाजन्य फोहोर पानीमा पाईने एक प्रकारको ब्याक्टेरिया भएकाले यसबाट बच्नुपर्ने उनले बताए ।
“मान्छे लगायत पशुजन्य प्रणालीहरुको दिशाबाट सङ्क्रमित भएर खानेपानीमा मिसिन पुग्छ । त्यस्तो सङ्क्रमित भएको पानी खाएमा मानव स्वास्थ्यका लागि प्रतिकुल असर गर्छ । यसले झाडापखाला, आउँ, हैजा, टाईफाईट जण्डीस जस्ता रोगहरु निम्त्याउने गर्दछ ।” उनले भने, “स्वच्छ पानी पिउनका लागि मुहान मात्र सफा राखेर हुँदैन । खानेपानीको धारा वरपर सरसफाइ र मुहानबाट उपभोक्ताको धारामा जाने पाईप टुटफुट र सेफ्टिी ट्याङ्कीमाथिबाट खानेपानीको पाईप लैजान हुँदैन ।” आँखाले सफा पानी देख्दैमा पानी पिउन योग्न नहुने भन्दै खानेपानी नियमित परिक्षण गराउनुपर्ने उनले बताए ।
























