देश/प्रदेश
बाधक उपसभामुख, महाधिवेशनसम्म नेकपामा पावर–सेयरिङ: नेता गजुरेल

काठमाडौं, माघ २-
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा अहिले देखिएको अवरोधको प्रमुख कारक र बाधक नै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे नै रहेको टिप्पणी गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनले अहिलेको गतिरोध हटाउनको लागि पनि उपभामुख डा. तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने स्पष्ट पारे । उनले भने,‘उहाँले मार्गप्रशस्त गर्नुपर्छ । भोलि उहाँ नै सभामुख बन्ने हो पनि उहाँले राजीनामा नदिइकन सभामुखमा उम्मेद्वारी घोषणा गर्न मिल्दैन ।’
साक्षात्कारमा नेता गजुरेलले नेकपामा सभामुखको दाबेदारमा धेरै नेताहरु रहेको सुनाए । उनले भने,‘हाम्रो पार्टीमा सभामुख बन्न सक्षम धेरै नेताहरु हुनुहुन्छ । जो पनि हुन सक्ने कुरा हो । जे सहज प्रक्रिया हो, जनताले जे कुरा बुझेको हो हामीले त्यही गर्नुपर्छ । जनता, कार्यकर्तालाई असहज लाग्ने काम हामीले गर्नुहुन्न । त्यसकारण कसले दाबी गर्ने भन्ने कुरै होइन, हिजो स्वभाविक प्रक्रियामा जे थियो त्यसलाई अगाडि बढाउनुपर्छ ।’
उनले सभामुखमा नेकपाको दाबी भएपछि को हुने ? भन्नेबारे बहस चल्नु त स्वभाविक प्रक्रिया भएको स्पष्ट पारे । उनले भने,‘पार्टीमा सभामुख को हुने ? भन्नेबारे बहस त चलिनै हाल्छ । यो स्वभाविक प्रक्रिया हो । धेरै नेता तथा कार्यकर्ता भएपछि चल्ने नै भयो । त्यसलाई हामीले अस्वभाविक रुपमा लिनुहुँदैन । अहिले बहस पनि छ । निर्णय नहुञ्जेलसम्म बहस त भइनै रहन्छ । निर्णयमा पुग्नको लागि पनि बहस भइरहेको हो । के गर्दा राम्रो हुन्छ ? भन्ने कुरामा अहिले विभिन्न पक्षबाट आ–आफ्ना तर्कहरु राख्ने काम भइरहेको छ ।
मलाई लाग्छ उपसभामुखले राजीनामा नदिएसम्म सभामुखको विषयमा हामीले बहस गर्नुको कुनै अर्थ छैन । बहस पर्यो भने फेरि नेकपाले सभामुख पनि आफैं राख्न खोज्यो, उपसभामुख त आफ्नो छँदैछ भन्ने आरोप आउन सक्छ । यो कुरा तपाइँहरुले पनि बुझेको हुनुपर्छ ।’उपभामुख डा. तुम्बाहाम्फेले राजीनामा नदिए तपाइँहरु के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘उहाँले राजीनामा दिनुहुन्छ । उहाँ पार्टीको नेता पनि हो । एउटा कार्यकर्ता पनि हो । उपसभामुखजस्तो गरिमामय पदमा उहाँ आसन गरिसक्नुभएको छ । संसदलाई बन्धक त उहाँले बनाईराख्नु हुन्न । कि त उहाँले भन्नुप¥यो सभामुख त अर्कै पार्टीलाई दिउँ, म उपसभामुख छोड्दिन भन्नु पर्यो । होइन भने उनले मार्गप्रशस्त गर्नु पर्यो । उहाँ नै भोलि हुने हो भने पनि मार्गप्रशस्त गर्नु पर्यो ।’
उपसभामुख तुम्बाहाम्फेले लिएको अडान आफूहरुलाई सहज नलागेको पनि उनले टिप्पणी गरे । उनले भने,‘उहाँले राजीनामा नदिएसम्म नेकपाले सभामुखमा उम्मेद्धवारी दिन नै पाउँदैन । उपसभामुखजस्तो पदमा बसेर उहाँले देश र जनतालाई निकास नदिने हो भने उहाँमाथि भोलि आरोप पनि त आउने भयो नि ।’ उनले आफूहरुले उपसभामुखलाई असक्षम भनेर नभनेको पनि जीकिर गरे ।
उपसभामुखले राजीनामा नदिए के गर्नुहुन्छ ? तपाइँहरु महाअभियोग लगाएर हटाउनुहुन्छ त ? भनेर सोधेको अर्को प्रश्नमा उनले भने, ‘उहाँले राजीनामा नदिने हो भने पार्टीले गम्भीर छलफल गर्छ । अहिले हामीले त्यस्तो सोचाई नराखौं । उपसभामुखले राजीनामा नदिने भनेर लिएको अडानका पछाडि केही कारण होलान् । तर, उहाँले मार्गप्रशस्त गर्नैपर्छ । पार्टीका दुवै अध्यक्षले बसेर उहाँलाई राजीनामा दिन आग्रह गर्नुभएको छ । अध्यक्षद्वयले तपाइँको लागि हामी अर्कै कुनै विकल्प पनि दिन्छौं भनिसकेपछि अब कसलाई आरोप लगाउने ?’
यद्यपि उनले अहिलेको गत्यावरोधको अवस्था नौलो कुरा नभएको स्पष्ट पारे । तत्कालिन नेकपा र नेकपा माओवादी केन्द्रबीचको एकता पनि असहज स्थितिमा भएको उनको भनाइ थियो । उनले भने, ‘संविधान कार्यान्वयन र स्थिर सरकारको आवश्यकत्ता महसुस गरेर हामीले एकता गरेका हौं । पार्टीमा दुई जना अध्यक्ष हुनु पनि सहज कुरा होइन् ।’ उनले पार्टीको आगामी महाधिवेशनसम्म नेकपाभित्र ‘पावर–सेयरिङ’ जारी रहने पनि विश्वास दिलाए ।
























