गण्डकी

कावासोतीमा आर्थिक र विनियोजन ऐन सर्वसम्मतले पारित

Banner

ज्ञानु पंगेनी

नवलपुर, पुस २८-

कावासोती नगरपालिकाको हिउँदे नगरसभाले दुई वटा ऐन पारित गरेको छ ।

कावासोतीमा सोमबार बसेको नगरसभाले आर्थिक ऐन–२०७६ मा केही संशोधन गरी सर्वसम्मतले पारित गरेको छ भने अर्को बिनियोजन ऐनको संशोधन प्रस्ताव समेत सर्वसम्मतरुपमा पारित गरेको छ । आर्थिक ऐन–२०७६ मा केही संशोधन गरी केही छुट भएका व्यवसाय तथा सिफारिसको कर निर्धारण गरिएको छ । आर्थिक ऐनले निजी पार्किङलाई व्यवस्थित बनाउन शुल्कसमेत निर्धारण गरेको छ । पार्किङलाई व्यवस्थित बनाउन आर्थिक ऐनले विशेष जोड दिएको छ । बेसमेन्ट पार्किङ निर्माण गर्नेलाई घरनक्सा पास दस्तुरमा छुट दिने समेत निर्णय गरेको छ ।

यस्तै बिनियोजन ऐनले रिङरोड निर्माणलाई प्राथमिकता दिएको छ । नगरपालिकाको सोमबार भएको हिउँदे नगरसभाले संशोधित विनियोजन ऐनले रिङरोड निर्माणलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको हो । नगर उपप्रमुख पे्रमशंकर मर्दनिया थारुले सभामा प्रस्तुत गरेको विनियोजन ऐनमा नगरपालिकाले रिङरोडलाई प्राथमिकता दिँदै पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । नगरपालिकाको महत्वपूर्ण योजनाको रुपमा हेरिएको रिङरोडलाई सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिएको छ । नगरपालिकाको विकासको आधारका रुपमा हेरिएको रिङरोड कावासोती नगरपालिका–४ बाट निर्माणको काम यस अघिनै सञ्चालन गरिएको भए पनि कामले गति लिन सकेको थिएन । हिउँदे अधिवेशनले बजेट संशोधन गर्दै रिङरोडलाई प्राथमिकतामा पारेको नगर प्रमुख चन्द्रकुमारी पुनले बताइन् ।

आफ्नो कार्यकालमानै रिङरोड निर्माणलाई सम्पन्न गर्ने गरि कार्यसमेत अगाडि बढाइने उनले बताइन् । हिउँदे अधिवेशनको सभाले पारित गरेको विनियोजन ऐनमा पाँच वटा वडाबाट काम गर्ने गरी पाँच करोड विनियोजन गरिएको छ । कावासोती नगरपालिका वडा नम्बर १, ३, ११, १५ र १७ नम्बर वडामा यसै वर्ष रिङरोडको निर्माण हुनेछ । नगरपालिकाले यस अघिनै रिङरोड निर्माण गर्ने गरी डीपीआर समेत तयार गरिसकेको छ । सोही अनुसार अब भने एकै साथ पाँचवटा वडामा काम सुरु हुने भएको छ ।

यसैगरी सभाले कावासोती–१६ गैँडाचोकदेखि दक्षिण तर्फको बाटोका लागि ३० लाख रुपैयाँ बजेट थप गरेको छ । यसअघि एक करोड रकम विनियोजन गरिएको थियो । नालासहितको बाटो स्तोरोन्नतिका लागि रकम थप गरिएको छ । यस्तै मध्यबिन्दु जिल्ला अस्पतालका लागि एम्बुलेन्स खरिदका लागि सात लाख अनुदान दिने, कुमारवर्ती बहुमुखी क्याम्पमा शौचालय निर्माणका लागि समेत बजेट विनियोजन गरिएको छ । यस अघि ८८ करोड २६ लाख ७० हजार प्रस्तावित बजेट रहेकोमा सभाले संशोधित बजेट एक अर्ब ११ करोड ७४ लाख ९४ हजार ३५१ पारित गरेको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रोशन ज्ञवालीले बताए । सभामा बोल्ने सदस्यहरुले दिवा खाजाको रकम बढाउनुपर्ने, लागत सहभागिता नबुझाउनेलाई सेवा प्रदान गर्न रोक्नुपर्ने लगायतका विषयहरु उठाएका थिए । सभामा उठेका विषयको उपप्रमुख पे्रमशंकर मर्दनिया थारुले जवाफ दिँदै लागत सहभागितामा सरिक नभएमा नगर र वडाबाट दिइने सेवा सुविधा रोक्का गर्ने बताएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>