नवलपरासी

नारायणी नदीकिनारमा लागुऔषध दुर्व्यसनी बढ्दै, पर्यटकीय क्षेत्र असुरक्षित बन्दै गएपछि स्थानीय चिन्तित

०
Banner

नवलपुर (नवलपरासी),कात्तिक २७ –

नारायणी नदीकिनारामा लागुऔषधको प्रयोग कर्ता (दुर्व्यसनी) हरु बढेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो समय पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण बन्दै गएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा दुर्व्यसनी बढ्दै गएपछि स्थानीयमा चिन्ता बढेको हो । नारायणी नदीको दृश्यावलोकनका लागि मध्यविन्दु–३ स्थित नारायणी नदीकिनारलाई अन्यत्रबाट आउने व्यक्तिले लागुपदार्थ दुव्र्यसनीको अखडा जमाउँदै गएको स्थानीय भरत श्रेष्ठले बताउनुभयो ।
गाउँ बाहिरका मानिस यहाँ आउने र नदी किनारमा सवारीसाधन पार्किङ गरी किनारमा रहेको खरको झाडीमा गएर गाँजालगायतका लागुऔषध तथा मादक पदार्थ सेवन गर्ने गरेको श्रेष्ठले बताउनुभयो । स्थानीय कविता पौडेलले नदी किनारमा केटाकेटी लिएर जान पनि डर हुने गरेको गुनासो गर्नुभयो ।

अन्यत्रबाट आउने मान्छेले ल्याएका खानेकुरा तथा प्लास्टिकका सामान नदी किनारमा छरपस्टै फालिएकाले नदी प्रदूषित बढेको छ । जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सदस्य राजु अर्यालले किशोरावस्थाका युवालाई दुर्व्यसनी मा नलाग्न गरिएको अनुरोध सुनुवाइ नभएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

टाढाबाट आउने मानिस होटलमा भन्दा पनि खुला ठाउँमा बसेर दृश्यावलोकनमा रमाउने गरेको अर्यालले बताउनुभयो । स्थानीय सरकारले नदी किनारलाई व्यवस्थित बनाउँदै सुन्दर पर्यटकीय गन्तव्य बनाउन लाग्नुपर्ने स्थानीय दीपक विकको भनाइ छ ।

नदीकिनारमा मादक पदार्थ तथा लागुपदार्थ सेवनमा रोक लगाउनुपर्ने, जथाभावी फोहर फाल्न प्रतिबन्ध लगाउनुपर्ने र फोहर जम्मा पारेर राख्ने व्यवस्था गर्नुपर्ने विकले बताउनुभयो ।
फोहर व्यवस्थापन र लागुपदार्थको दुर्व्यसनीबाट नारायणी हाइटलाई मुक्त पार्न सके भविष्यमा यस स्थान बाह्य पर्यटकको गन्तव्य बन्न सक्ने बताइन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>