देश/प्रदेश

उपसभामुख सभामुख हुने भए अनिवार्य राजीनामा दिनुपर्छ: देव गुरुङ

Banner

काठमाडौं, पुस २८-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संवैधानिक व्यवस्थाअनुसार उपसभामुखको हैसियतमा डा. शिवमाया तुम्बाहाम्फे सभामुखको उम्मेद्वारनै बन्न नपाउने दाबी गरेका छन् ।

सोमबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता गुरुङले पछिल्लो समय मुलुकमा अनपेक्षित परिघटना भइरहेकोतर्फ सचेत गराए । उनले भने,‘संसद अवरुद्ध हुनु दुःखद् हो । यदि संसद यही तवरले अवरुद्ध भइरहे मुलुकको सिस्टममा गत्यावरोध हुनसक्छ ।’ सदनको गत्यावरोध हटाउनको लागि र सदन सुचारु गर्नको लागि सबै दल गम्भीर हुनुपर्नेमा जोड दिए । यद्यपि उनले अहिलेको संसदको गत्यावरोध पार्टीसँग सम्बन्धित नभएको जीकिर गरे । ‘यो गत्यावरोध संवैधानिक अंगसँग सम्बन्धित छ ।’ उनले भने, ‘त्यसैले पार्टीले मात्रै निकास दिन सक्दैनन् ।’

क्लबका सभापति ऋषि धमलाको अध्यक्षतामा आयोजित साक्षात्कारमा गुरुङले अहिले सभामुख पद रिक्त रहेकोले त्यसको लागि निर्वाचन आवश्यक रहेको सुनाए । सदनमा बहुमत भएको नाताले सभामुखमा नेकपाले उम्मेद्वारी दिने उनले बताए । उनले भने,‘सबै हिसाबले सभामुख नेकपाले लिने कुरा उत्तम हो । तर, यसको लागि संवैधानिक बाटो खुलाउनुपर्छ ।’ उपसभामुख डा तुम्बाहाम्फेलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न नेकपाले आग्रह गरेको पनि उनले सुनाए । ‘उपसभामुखलाई पार्टीले निर्देशन दिन मिल्दैन । आग्रहमात्रै गर्न मिल्छ । उहाँ स्वतन्त्र हुनुहुन्छ । पार्टीको कुनै ह्विप जारी गर्न मिल्दैन् । मार्गप्रशस्त गर्न त उहाँले आफ्नो स्वविवेकीय क्षेत्राधिकार प्रयोग गर्नसक्नुहुन्छ’ गुरुङले थपे ।

संसदको डेडलक फुकाउनको लागि संसदको नियामावली फलो गर्नुपर्ने उनको धारणा छ । संविधानले सभामुख नरहने परिकल्पना नगरेको पनि उनले सुनाए । उनले भने,‘संविधानले कायममुकायमको पनि व्यवस्था गरेको छैन ।’ उपसभामुखले अन्तरवस्तु आकर्षण गर्ने गरी बैठक बोलाउन नसक्ने उनको तर्क छ ।  उनले उपसभामुखलाई सभामुख बनाउने व्यवस्था नरहेको स्पष्ट पारे । उनले भने, ‘उपसभामुख पदमा रहिरहेर सभामुखमा आफ्नो उम्मेद्वारी दिन मिल्दैन । यदि उम्मेद्वार हुन चाहेको भए उपसभामुखबाट अनिवार्यरुपमा राजीनामा दिनुपर्छ ।’ उनले अहिले महिला वा पुरुषलाई सभामुख बनाउने भन्ने बहस नभएको सुनाउँदै घट्नाक्रमले संकट आइपर्न सक्ने पनि सुनाए । ‘यस्तो अवस्थामा हामीले संवैधानिक व्यवस्था फलो गर्नुपर्छ ’ उनले थपे ।

अहिलेको संसदको गत्यावरोध खुलाउनको लागि दुई वटा विकल्प रहेको सुनाउँदै गुरुङले भने,‘कि त सर्वोच्च अदालतको फैसला तुरुन्त आउनुप¥यो, या त उपसभामुखले मार्गप्रशस्त गर्नुपर्छ । पार्टीको आग्रह पनि उहाँलाई मार्गप्रशस्त गर्न रहेको छ ।’ संवैधानिक रुपमै सभामुखमा उम्मेद्धवारी दिने बाटो खुला नभएकोले नेकपाले उम्मेद्वार तय नगरेको उनको तर्क छ । उनले भने,‘संवैधानिक संकटको समाधान हुनेबित्तिकै सभामुखमा एबीसी वा डी जो भए पनि उम्मेद्वार तय हुन्छ । पहिला संकट फुकाउनुपर्छ ।’ ढिलो वा चाँडो उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनेमा आफू विश्वस्त रहेको पनि गुरुङको भनाइ छ ।  उनले संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिकता कसैलाई पनि नहुने र कम्युनिस्ट पार्टीमा त झनै त्यो कुरा स्वीकार्य नहुने तर्क गरे । उनले भने, ‘यो फेयर पोलिलिटक्स होइन् ।’ व्यक्तिका इच्छा, आकांक्षा पूरा गर्नको लागि सदन अवरुद्ध गर्न नहुने उनको भनाइ छ । उनले उपसभामुख यथावत रहेको अवस्थामा नेकपाले सभामुखमा उम्मेद्वारी दिन नपाउने पनि स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>