देश/प्रदेश
सभामुख छान्न नेकपामा सकस: बालुवाटारमा नेकपा सचिवालय बैठक चल्दै

काठमाडौँ, पुस २६ –
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा सभामुख छान्न सकस परेको छ ।
पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी ओलीले आआफ्नै उम्मेदवार अगाडि सारेपछि पार्टीमा सभामुख छान्न सकस परेको हो ।
यसै विषयमा निर्णय गर्न नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सुरु भएको छ।
आज अपरान्ह सुरू भएको बैठकमा सभामुखको उम्मेदवार चयन गर्नेलगायत एजेन्डामा छलफल भइरहेको सचिवालय स्रोतले जानकारी दियो। उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुखमा आफ्नो दाबी प्रस्तुत गर्दै आएकी छन्। शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तुम्बाहाम्फेले आफू सभामुखका लागि योग्य भएको बताएकी थिइन्। तर अध्यक्षद्वय ओली र प्रचण्डका पनि आफ्नै उम्मेदवार छन्। ओलीले सुवास नेम्वाङ र प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउनुपर्ने अडान राख्दै आएका छन्।
पम्फा भुसालको नाम पनि चर्चामा छ।
आइतबार प्रतिनिधिसभा बैठक डाकिएको छ। बैठक बस्नुअघि समामुखबारे निर्णय गर्न नेकपाले सचिवालय बैठक राखेको हो। सभामुख पूर्वमाओवादी खेमाले आफूहरूले पाउनुपर्ने बताएको छ। फाइल फोटो
























