नवलपुर

स्टिकर बोकेर कावासोतीका घरघरमा सर्वेक्षक

Banner

ज्ञानु पंगेनी

नवलपुर, पुस १४

कावासोती नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियानलाई सफल बनाउन घरधुरी सर्वेक्षणलाई तीव्रता दिएको छ ।
नगरभित्रका सबै घरघरमा पुगेर बालबालिकाको अवस्था कस्तो छ भन्ने बारेमा जानकारी लिने उद्देश्यले घरधुरी सर्वेक्षणको काम थालनी गरिएको हो । सबैभन्दा पहिले नगरपालिकाभित्र बालबालिकाको अवस्था कस्तो छ त ? भन्ने बारेमा तथ्याङ्क संकलन गरेपछि सोही आधारमा काम गर्न सहज हुने भएकाले घरधुरी सर्वेक्षणको काम थालनी गरिएको कावासोती नगरपालिकाका नगर शिक्षा अधिकृत क्षेत्रबहादुर भण्डारीले बताए ।

घरधुरी सर्वेक्षणका लागि अहिले नगरपालिकाका १७ वटै वडामा ३५ सर्वेक्षक र तीन बालमैत्री स्वयम्सेवक गरी ३८ जना खटिएका छन् । घरधुरी सर्वेक्षणमा सहजता प्रदान होस्् भन्ने उद्देश्यले प्रत्येक वडाले टोलटोलको नक्सा तयार पारेर सर्वेक्षकलाई सहजीकरण गर्ने कामसमेत गरेका छन् ।

सर्वेक्षणमा खटिएका सर्वेक्षकले घरघरमा पुगेर ‘बालमैत्री स्थानीय शासन घरधुरी सर्वेक्षण–२०७६ ’ लेखिएको घरधुरी संख्या उल्लेख भएको स्टिकर टाँस्ने र फारम भर्ने काम गरिरहेको नगर शिक्षा अधिकृत भण्डारीले जानकारी दिए । बालबालिकाको अवस्थाका बरेमा जानकारी हासिल गर्न आवश्यक पर्ने तथ्याङ्क संकलन गर्न पूरा गर्नुपर्ने ३९ वटा राष्ट्रिय सूचक र कावासोती नगरपालिकाले थप गरेको ६ वटा सूचक गरी ४५ वटा सूचकका आधारमा तयार पारिएको प्रश्न र अन्य थप प्रश्नहरुसहितको मोवाइल एप्स निर्माण गरेर सोही एप्स मार्फत् नै सर्वेक्षकले अहिले मोबाइल मार्फत् नै तथ्याङ्क संकलन गर्ने काम गरिरहेको भण्डारीले बताए ।

नगरपालिकाको प्रत्येक वडाबाट जनघनत्वको आधारमा परीक्षा नै लिएर सर्वेक्षक छनौट गरिएको थियो । उनीहरुलाई तालिम दिएर सर्वेक्षणमा खटाइएको बालमैत्री फोकल पर्सन बिना प्युठानीले जानकारी दिइन् । प्रविधिको प्रयोग गरेर छिटो छरितो रुपमा काम सम्पन्न गर्न एप्समार्फत् तथ्याङ्क संकलनको काम थालनी गरिएको प्युठानीको भनाइ छ ।

कुनै पनि विकास निर्माणका काम गर्नुभन्दा पहिले प्रारम्भिक तथ्याङ्क अत्यावश्यकीय हुने र तथ्याङ्क बिना विकास सम्भव नहुने भएकाले नगरपालिकाले घरधुरी सर्वेक्षणको काम थालनी गरेको प्युठानीले बताइन् । प्युठानीका अनुसार बालमैत्री स्थानीय शासन लागू गर्न स्टिकर टाँस्ने कामले नगरपालिकामा कति घर संख्या छन् भन्ने एकीन तथ्याङ्क आउने वातावरण समेत बनाएको छ । नगरपालिकामा अहिलेसम्म घरधुरी नम्बर दिइएको थिएन । अहिले टाँस गरिएको स्टिकरमा उल्लेख गरिएको घरधुरी नम्बर नै नगरपालिकामा रहेका घरहरुको स्थायी नम्बर हुने प्युठानीको भनाइ छ । घरधुरी सर्वेक्षणको काम माघ महिनाभित्र सक्ने र त्यसपछि विद्यालयमा समेत सर्वेक्षण गरिने प्युठानीले बताइन् ।

२०७७ सालभित्र कावासोती नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्य अनुसार अहिले कामलाई तीव्रता दिइएको प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीेले बताए । घरधुरी सर्वेक्षणको काम सकिएपछि नगरभित्रका बालबालिकाको स्थितिपत्र तयार गरेर सोही अनुसार काम गरिने ज्ञवालीको भनाइ छ ।

बालमैत्री घोषणा गर्न पूरा गर्नुपर्ने सूचकहरुमा कुन – कुन सूचक कति पूरा भएको रहेछ त ? कुन सूचकलाई पूरा गर्न बढी प्रयास गर्नुपर्छ भन्ने यकीन तथ्याङ्क सर्वेक्षणबाट आएपछि सोही आधारमा काम गरिने ज्ञवालीले बताए । नगरपालिकामा बालमैत्रीका लागी चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको ज्ञवालीले जानकारी दिए । ‘यो बजेट प्रर्याप्त त होइन तर हामीले सर्वेक्षणपछि आवश्यकता हेरेर बजेट व्यवस्थापन गर्छौ । सर्वेक्षणपछि नै निर्धारित समयमा बालमैत्री घोषणा गर्न सकिन्छ वा सकिन्न भन्ने कुरा थाहा हुनेछ । तर, हामी २०७७ भित्रै बालमैत्री नगरपालिका घोषणा गर्न लागी परेका छौ । ’ ज्ञवालीले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>