कृषि
नारायणगढमा कौसी खेती तालिम

चितवन, मंसिर २३-
चितवनको नारायणगढमा आज एक दिने कौसीखेती तालिम सञ्चालन भएको छ ।
रोटरी क्लब अफ चितवन र स्पाउस क्लब अफ आरसी चितवनको संयुक्त आयोजना तथा उद्योग वाणिज्य संघ चितवनको सहकार्यमा नारायणगढमा कौसी खेती तालिम भएको हो ।
रोटरी क्लब अफ चितवनका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा घरको कौसीमा नै कसरी अर्गानिक खेती गरेर आफ्नो दैनिकरुपमा सहज तरिकाले करेसाबारी खेती गर्न सकिन्छ भन्ने विषयमा तालिम प्रदान भएको थियो । नेपाल थोपा सिचाइँबाट आएका मुख्य प्रशिक्षक खोजराज कटवाल तथा रोटरी क्लब चितवनका पूर्वअध्यक्ष मित्रराज दवाडीले तालिम दिएका थिए । उक्त तालिमले स्पाउसहरुको दैनिक जीवन यापनमा सहयोग पुग्नेमा आशावादी रहेको स्पाउस क्लब अफ आरसी चितवनका अध्यक्ष कविता चुकेले जानकारी दिइन् ।
उक्त तालिममा ३८ जना स्पाउसहरुको सहभागिता रहेको थियो भने रोटरी क्लब चितवनबाट अध्यक्ष पौडेलसँगै निवर्तमान अध्यक्ष कपिलबाबु खनाल, निर्वाचित अध्यक्ष रोशन पिया तथा पूर्वअध्यक्ष दवाडीको सहभागिता रहेको कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका कार्यसमिति सदस्य सोमप्रसाद कार्की पनि उपस्थित रहेका थिए ।
























