नवलपुर
जुनियर युवा रेडक्रस गोष्ठी सकियो, वार्षिक कार्ययोजना तयार

गैंडाकोट, मंसिर १८–
नेपाल जुनियर युवा रेडक्रस नवपलुरको आयोजना र नमुना माविको आतिथ्यतामा सञ्चालित दुई दिने जुनियर युवा रेडक्रस गोष्ठी गैंडाकोटमा सम्पन्न भएको छ । ७० विद्यालयका २ सय ३० जना शिक्षक नायक, जुनियर युवा रेडक्रस शर्कलका पदाधिकारी सहभागी रहेको गोष्ठीले जिल्लामा सञ्चाल गरी शैक्षिक वर्ष २०७६/०७७ का लागि वार्षिक कार्ययोजना तय गरेको नेपाल जुनियर युवा रेडक्रस जिल्ला समिति नवपलुरका संयोजक केबी रानाले जानकारी दिए ।
गोष्ठीले मानविय सेवा, विपद् व्यवस्थापन, ट्राफिक सचेतना, लागुऔषध न्यूनीकरण, शैक्षिक गुणस्तर वृद्वि, बालमैत्री विद्यालय निर्माण अभियान, जीवन जिउने कला, नेतृत्व विकास, बाल प्रतिभाको खोजी, तनाव व्यवस्थापन, विभिन्न विद्यामा स्वंयम सेवक प्रशिक्षक तयार गर्ने, लैंङ्गिक हिंसा न्यूनीकरणलगायत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको समितिका संयोजक रानाले जानकारी दिए । उनका अनुसार जिल्लाका आठ वटै स्थानीय तहमा फाल्गुन भित्र पालिकास्तरीय जुनियर युवा गोष्ठी गर्ने, संरक्षक र शिक्षक नायकको अवलोकन भ्रमण प्राथामिक उपचार, आर्ट अफ लिभिङ्ग प्रशिक्षक प्रशिक्षण, जिल्ला स्तरीय वक्तृत्व कला प्रतियोगिता, हाजिरी जवाफ, नृत्यकला, बादविवाद, निवन्ध प्रतियोगिता नेतृत्व विकास तालिम लगायत कार्यक्रम गर्ने निर्णय गरेको छ ।
गोष्ठीमा नेपाल रेडक्रस सोसाईटी चितवनका उपसभापति विदुर केसीले रेडक्रस बारेमा, आर्ट अफ लिभिङ्गका वरिष्ठ प्रशिक्षक विष्णु पाण्डेले जीवन जिउने कला, प्राकृतिक चिकित्सा सामुदायिक अस्पताल रजहरका डा. संग्राम पुरीले दैनिक आहार विहार, प्राकृतिक उपचार पद्वतीको महत्व, संयोजक केबी रानाले युवा जुनियर युवा रेडक्रस नीति, कार्यक्रम, नेतृत्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएका थिए । यसैगरि रेडक्रस रजहर उपशाखा सचिव निराजन महतोले प्राथामिक उपचार, इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख विक्रम क्षेत्रीले लागुऔषध न्यूनीकरण, ट्राफिक प्रहरी कार्यालय गैंडाकोटका सहायक प्रहरी निरीक्षक महाप्रसाद ढकालले सडक सुरक्षा विषयमा प्रशिक्षण दिएका थिए ।

तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि तथा नेपाल रेडक्रस सोसाईटी नवलपुर जिल्ला सभापति मदनभक्त अधिकारी, गण्डकी प्रदेश सदस्य केशव अधिकारी, नमुना माविका प्रिन्सिपल गोपेन्द्र केसरी न्यौपाने, नेपाल शिक्षक महासंघ नवलपुर अध्यक्ष मोहनलाल कलवार, शिक्षक नायक कुशुम न्यौपाने लगायतले गोष्ठीले जुनियर युवा रेडक्रस अभियानमा नयां उर्जा थप्ने विश्वास व्यक्त गरे । कार्यक्रम नेपाल जुनियर युवा रेडक्रस जिल्ला समिति नवपलुरका संयोजक केबी रानाको अध्यक्षता सम्पन्न भएको थियो ।
गोष्ठीमा सहभागीहरुले पर्यटन प्रवद्र्वनका लागि मौलाकालिका मन्दिर सम्म सचेतना मुलक पैदल यात्रा गरि एक रात मन्दिर परिसरमै वसी सांस्कृतिक कार्यक्रम गरेका थिए । मौलाकालि मन्दिर व्यवश्थापन समितिका अधयक्ष सालिकराम सापकोटाले युवा विद्यार्थीहरु मौलाकालि मन्दिरमा वास वसेर धार्मिक, सांस्कृतिक, ऐतिहांसिक तथा पर्यटन प्रवद्र्वनप्रति चासो राखेकोमा धन्यवाद ज्ञापन गरे ।
























