गण्डकी
किशोरीलाई सिप सिकाउँदै नवलपुरको अग्र्यौली पुस्तकालय

ज्ञानु पंगेनी
नवलपुर, कात्तिक २
नवलपुरको कावासोती नगरपालिका–१६ डण्डामा रहेको अग्यौली सामुदायिक स्रोत पुस्तकालयको आयोजना र रिड नेपालको सहयोगमा किशोरीहरुका लागि टेक एज गल्स् (ट्याग कार्यक्रम ) शनिबारबाट सुरु भएको छ ।
कावासोतीका चार वटा विद्यालयका ५० जना सहभागी कार्यक्रममा पुस्तकालयको कार्य क्षेत्र नजिक पर्ने कावासोती–१६ डण्डाको सहिद नगरमा रहेको जनता मावि, कावासोती तीन पुरानो कावासोतीमा रहेको जीवनज्योति मावि , कावासोती–१७ ढोकीमा रहेको त्रिभुवन बाल मावि र कावासोती–१६ त्रिभुवनटारमा रहेको जनता माविका चार वटा विद्यालयबाट छनौट भएका ५० जना १४ वर्षदेखि २२ वर्ष उमेर समूहका किशोरीहरुलाई १२ देखि १७ हप्तासम्म तालिम प्रदान गरिनेछ ।
यस कार्यक्रमको मुख्य उद्देश्य भनेकै प्रविधिको माध्यमबाट किशोरीको नेतृत्व विकास र जीवनउपयोगी सिप प्रदान गर्ने रहेको रिड नेपालका कार्यक्रम संयोजक साजन थापाले बताए । पहिचो चरणअन्तर्गत ५० जना किशोरीलाई १७ हप्तासम्म दैनिक जीवनमा आवश्यक पर्ने कम्युटरसम्बन्धी ज्ञान र सिप सिकाइने छ । विषेशगरी किशोरीलाई सूचना प्रविधिको पहुँचमा वृृद्धि गर्दै यसको सही प्रयोगबाट हुने सकारात्मक फाइदा र यसलाई प्रयोग गर्ने नाममा दुरुपयोग बढ्दा जीवनमा हुन सक्ने नकारात्मक बेफाइदाका बारेमा तालिम मार्फत् जानकारी दिँदै सजग र सचेत बनाएर उनीहरुका माध्यमबाट फेरि समुदायमा यी कुराको चेतना अभिबृद्धि गर्ने काम गरिने कार्यक्रम संयोजक थापाले जानकारी दिए ।
पहिलो चरणअन्तर्गत किशोरीलाई प्रविधिका विषयमा २ घण्टा अभिमुखीकरण र २ घण्टा प्रयोगात्मक कक्षा मार्फत् नेतृत्व तथा व्यक्तित्व विकाससँगै जीवनउपयोगी सिप प्रदान गरिने थापाले बताए । यसैगरी दोस्रो चरणमा ५० जना मध्येबाट उत्कृष्ट २४ जनालाई छनौट गरी १२ देखि १७ हप्तासम्म फेरि तालिममा सहभागी गराई उनीलाई समाजमा सामूहिक कार्यमा समेत संलग्न गराइने छ । तेस्रो चरणमा २४ जनामध्येबाट पनि फेरि कम्तीमा तीन जना उत्कृष्ट किशोरीलाई छनौट गरी काठमाडाँैमा एक हप्ताको विशेष प्रशिक्षण प्रदान गरिने थापाले बताए ।
रिड नेपालले (ट्याग कार्यक्रम ) नवलपुरको अग्यौली र मध्यबिन्दुको लेडाहामा रहेको फूलबारी सामुदायिक स्रोत पुस्तकालयमा सञ्चालन गरेको छ । फूलबारी सामुदायिक स्रोत पुस्तकालयमा पनि केही समयपछि कार्यक्रम सुरु हुने रिड नेपाल ट्याग कार्यक्रमका क्षेत्रीय कार्यक्रम संयोजक राजु चापागाईले जानकारी दिए । नवलपुरमा दुई वटा पुस्तकालयबाट पहिलो चरणमा एक सय जना किशोरीलाई तालिम प्रदान गरिने संयोजक चापागाईले बताए । यो कार्यक्रम देशका १० वटा पुस्तकालयमा सञ्चालन गरिएको र यसबाट ५०० किशोरीको सशक्तिकरण गर्ने लक्ष्य रहेको चापागाईले जानकारी दिए ।
कार्यक्रम अग्यौली सामुदायिक स्रोत पुस्तकालयका अध्यक्ष सूर्य पाण्डेको अध्यक्षता तथा कावासोती नगरपालिका उपप्रमुख प्रेम शंकर मर्दनियाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा कावासोती नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष एकादत्त वस्ती, कावासोती नगरपालिका शिक्षा अधिकृत क्षेत्रबहादुर क्षेत्री, स्रोत व्यक्ति तीर्थ कँडेल, ओम बिन्दु ट्रष्ट कावासोतीकी अध्यक्ष बिन्दु केसी, लीला भण्डारीलगायतले बोल्दै कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।