फिचर

पर्यटन वर्ष २०२०: निरन्तर दौडिँदै नेपाल चिनाउने हङकङ निवासी दिनानाथ

Banner

रमेश वस्ताकोटी

चितवन, भदौं ३१-

कुनै नेपाली विदेश गएर उतैको बासिन्दा भयो भनेर हामी सोच्छौं तर उ आफ्नो जिन्दगी सुधार्न र धन कमाउनमा नै तल्लिन हुन्छ । सबै त्यस्ता हुदैनन् केही यस्ता अपबाद हुन्छन् जो विदेशी भूमिमा बसेर पनि आफ्नो देशलाई कुनै न कुनै तवरले चिनाउनका लागि मरिमेट्छन् । तिनै अपबाद मध्येका एक हुन् गोर्खाका दिनानाथ बगाले । जो अहिले हङकङमा बस्छन् र आफ्नो देशलाई चिनाउन लागिरहेका छन् त्यो पनि दौडिएर ।

गोर्खाको उत्तरी भेग साबिकको मसेल गाबिस हालको भिमसेन गाँउपालिका वडा नम्बर १ मा पर्ने खागीथोकमा विसं २०३६ सालमा जन्मिएका हुन् दिनानाथ बगाले । उनी अहिले नेपालको झन्डा बोकेर विदेशी भूमिमा दैडिरहेका भेटिन्छन् । दौडिनका लागि उनी कहिके जापान पुग्छन् , कहिले चीन त कहिले हङकङ कै विभिन्न ठाउँमा पुगिरहेका हुन्छन् । युरोपका फ्रान्स , इटली र स्विजरल्याण्ड जस्ता देशमा पुगेर पनि उनले दौड मार्फत् नेपाल चिनाइरहेका छन् ।  पछिल्लो पटक उनी फ्रान्समा दौडिएका थिए । यसपछि हङकङ मा हुने प्रतियोगितामा उनी सहभागी हुदैछन् भने सन् २०२० को मार्चमा चीनमा हुने प्रतियोगितामा सहभागी हुने निश्चित भएको बगालेले बताए ।

दिनानाथ २००४ मा हङकङ पुगेका थिए । हङकङ पुगेपछि नै उनी नेपालको प्रतिनिधित्व गर्दै निरन्तर दौडिरहेका छन् । दिनानाथ जब नेपालना थिए उनी ट्रेकिङ कम्पनीमा टुर गाइड थिए । टुर गाइड हुँदा नै उनी प्राय नेपाली हिमश्रृखंला र डाँडाकाँडामा पुगिसकेका थिए । त्यसैले हिमश्रृंखला र डाँडाकाँडामा दौडनु उनका लागि नौलो थिएन । प्राय घुम्न र नयाँ काम गर्न रुचाउने दिनानाथ हङकङ पुगेपछि के गर्ने भन्ने योजना बनाउँदै गर्दा उनैले काम गर्ने कम्पनीले अक्स्फाम रेसको आयोजना ग¥यो, उनले यसमा सहभागी हुने निधो गरे । दिनानाथ भन्छन्, ‘आफ्नो अनुभव, विभिन्न व्यक्तिको हौसला र आफ्नो दृढ विश्वासकै कारण सहभागी भएँ ।’ पहिलोपटक सहभागी रेशमा कुशलतापूर्वक १०० किलोमिटर दौडिसकेपछि उनलाई आफ्नो क्षमतामाथि विश्वास लाग्न थाल्यो ।

उनी लगभग १०० भन्दा बढी ट्रेल रेशमा सहभागी भइसकेका छन् । दिनानाथ हरेक रेशमा नेपालको झन्डा बोकेर दौडन्छन् । उनी भन्छन्, ‘संसारमा नेपाली भनेर आफ्नो परिचय दिँदा गौरव महसुस हुन्छ । दौडमा प्राय नेपालीहरु भेट्टिनु हुन्न, विदेशीहरुले हाम्रो देशको बारेमा जिज्ञासा राख्नु हुन्छ म पनि गर्वका साथ हाम्रो सगरमाथा, बुद्ध अनि प्राकृतिक मनोरमता र सांस्कृतिक विविधताको बारेमा खुलेर भन्छु ।’
दिनानाथले भाग लिने प्रतियोगितालाई ट्रेल रेस भनिन्छ । जुन डाँडा पाखा ,हिमाली भेगमा आयोजना हुने गर्छ । दिनानाथ सन् २०१७, २०१८ र २०१९ मा चीनको मेली माउन्टेनमा १०० किलोमिटरको दौड, जापानको फुजी माउन्टेनमा १६८ किलोमिटरको दौड, खम्मिङ कन्ट्रिपार्क चीनमा ११० किलोमिटरको दौडलगायतमा सहभागी भइसकेका छन् । हरेक दौडमा दोस्रो, तेस्रो स्थानसँगै उनले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
पछिल्लो समय फ्रान्समा आयोजित विश्वकै सबैभन्दा ठूलो अल्ट्रा रेस (युटीएमबी) अल्ट्रा ट्रेल माउन्टेन ब्लाङमा सहभागी भएका थिए उनी । उनले १७१ किलोमिटर लामो रेस ३६ घण्टा १० मिनेटमा पूरा गरे । दिनानाथ भन्छन्, ‘यो साहसिक रेस हो, यसमा धैर्य चाहिन्छ , आत्मविश्वाश चाहिन्छ । ट्रेल रनर हुन पाउँदा म आफू निकै खुसी छु ।’

वर्षमा ३ देखि ५ वटासम्म अन्तर्राष्ट्रिय दौडमा सहभागिता जनाउने दिनानाथ सम्पूर्ण लागत खर्च आफैले बेहोर्छन् । उनी भन्छन्, ‘प्रायोजकहरु भेटिन्छन् तर मैले अहिलेसम्म कसैको प्रायोजनमा काम गरेको छैन, अन्य कम्पनीहरुको प्रायोजनमा प्रतियोगितामा सहभागी हुँदा सम्बन्धित कम्पनीको प्रचारको लागि काम गर्नुपर्ने हुन्छ तर म मेरो देशको लागि दौडिदैँछु । मलाई मेरो देशको पहिचान हुने सामग्रीहरुको प्रचार गर्नु छ ।’ हरेक प्रतियोगितामा सहभागी हँुदा २५० डलरदेखि दुई हजार २०० डलरसम्म तिर्नुे पर्ने दिनानाथको भनाइ छ ।
अहिले उनले नेपालमा जिओग्राफी एक्स्पेडिसन एडभेन्चर ट्रेकिङ कम्पनी शुरुवात गरेका छन् । ‘कम्पनी मार्फत् पर्यटकीय सम्भावनाको खोजीसँगै पर्यटकलाई नेपाल घुम्नका लागि अभिप्रेरित गरिरहेका छौं ।’ दिनानाथले भने, ‘उनले अबको प्रतियोगितामा नेपाल भ्रमण वर्ष–२०२० को प्रचार गर्ने आफ्नो योजना रहेको सुनाए । ‘विदेश बसेर नि नेपालको प्रचार गर्न सकिन्छ । जसले जे सकिन्छ त्यो गर्ने हो’ दिनानाथले भने । हङकङ उनको कर्म थलो हो तर पनि उनी सधै नेपालको प्रचार गरिरहेका हुन्छन् । भन्छन्, ‘शरीरले साथ दिएसम्म दौडन्छु , अनि मातृभूमिको प्रचार गरिरहन्छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>