चितवन विशेष

फालेको केराको थम्बाबाट सजावटका सामग्री बनाएर मनग्य आम्दानी गर्दै चितवनकी अप्सरा

Banner

निरुता बि.क

चितवन, असोज ७-

भरतपुर महानगरपालिका–२३ जगतपुर घर भएकी अप्सरा तमाङ श्रेष्ठको दैनिकी आजभोलि फालेको केराको थम्बा(बोट)लाई सानो–सानो रेसा बनाई विभिन्न सामग्री बनाउँने काममा बित्ने गर्दछ ।

हातेमालो महिला लघुवित्त उद्यमी समूहकी अध्यक्षसमेत रहेकी अप्सराले केराको थम्बाबाट घरमा सजाउने सजावटका सामग्री पेन होल्डर, फूलदानी, डस्बिन, चप्पल, चकटी, ब्यागलगायत हस्तकलाका सामग्री उत्पादन गर्दै आएकी छन् ।

भरतपुर महानगरपालिकाले फालेको केराको थम्बाबाट सामग्री बनाउने आधारभूत तालिम उपलब्ध गराएसँगै हस्तकलाका सामग्री बनाएर जिविकोपार्जन गर्दै आएको उद्यमी अप्सराले सुनाइन् । उनले भरतपुर महानगरपालिका–२३ घैलाघारीमा रहेको थारु सङ्ग्रहालयमा हस्तकलाका सामग्री राखेर बिक्री वितरण गर्दै आएकी छन् ।

धेरै जसो कसरा रिसोर्ट, जङगलभिला, सोल्टी होटललगायतबाट भ्यानको भ्यान पर्यटक आएर सामग्री किन्ने गरेको उनको भनाइ छ । उनले नेपालीले भन्दा विदेशी पर्यटकले हस्तकलाको सामग्री धेरै मन पराएको सुनाइन् । उनले १० दिने आधारभूत तालिम लिँदा यति राम्रा सामग्री बनाउन सफल भएका छौँ भने एड्भान्स तालिम लिन पाए अझ धेरै भन्दा धेरै राम्रो सामग्री बनाउन सकिने उनले बिस्वास लिएकी छन् ।

उनले तालिम लिइसकेको केही दिनबाटै सामग्री बनाउन सुरु गरेको बताइन् । ‘तालिम लिएको केही दिनपछि हामीले विभिन्न सामग्री बनाउँन थाल्यौँ ।’ उनले भनेकी छन्, ‘सुरुका दिनमा काठमाडौँबाट अर्डर आउथ्यो । काठमाडौँमा सामग्री पठाउँन थाल्यो । काठमाडौँमा सोचेको जस्तोे आम्दानी नभएपछि अहिले गाँउघरमै बेच्ने गरेका छौँ ।’ यहाँ आउने पर्यटकले हस्तकलाका सामग्री धेरै नै मन पराइदिएमा खुसी व्यक्त गरिन् ।

महानगरपालिकाले ढेड लाखभन्दा माथिको थम्बाबाट रेसा बनाउँने मेसिन पनि समूहलाई उपलब्ध गराएको उनले बताइन् । जसले गर्दा सामग्री निर्माण गर्दा सहज हुने उनको भनाइ रहेको छ । उनले यस पेसाबाट महिनाको १० हजार देखि १५ हजारसम्म न्यूनतम आम्दानी हुने बताइन् । बिना लगानीबाट महिनाको १५ हजार आम्दानी हुँदा उद्यमी अप्सरा आफ्नो पेसामा खुसी छन् । १०० देखि एक हजारसम्मको सामग्री बनाइने उनले जानकारी दिइन् । उनले भनिन्, ‘खेर गइरहेको केराको बारेमा केही थाहा थिएन । फोहोरबाट पनि महर बनाउन सकिदो रहेछ ।’

उनले अहिलेसम्म केराको थम्बा ल्याउन पैसा तिर्नु नपरेको सुनाइन् । ‘घर नजिकै छिमेकीले केरा खेती गर्नु भएको छ । उनले भनेकी छन्, ‘केराको थम्बा ल्याउँदा पैसा तिर्नु पर्दैन । खम्बा ल्याउँदा सबै उद्यमी महिला मिलेर ल्याउँछौँ ।’

उनकाअनुसार हस्तकलाका सामग्री बनाउनको लागि २० जना महिलाको समूह रहेका छन् । उनले भनिन्, ‘विगत छ महिनादेखि केराको खेर जाने खम्बाबाट फाइबर प्रशोधन गरी हस्तकलाका उत्कृष्ट सामग्री बनाउँदै हामीले जिविकोपार्जन गर्दै आएका छौँ । यसबाट सोचेको भन्दा राम्रो आम्दानी हुन्छ ।’
पहिलो गाँउघरमा सधै घाँस दाउरा, निउरो खोजेर जिविकोपार्जन गर्दथ्यौं भने अहिले आफूसँग सिप हुँदा घरमा फुर्सदको समयमा खम्बाबाट विभिन्न सामग्री बनाउने गरेको सुनाइन् । जंगलमा दाउरा, निउरो खोज्न जाँदा कहिलेकाहीँ जंगली जनावरसँगको जम्काभेटमा अब घर फर्किइन्नकी जस्तो अनुभूति हुने गरेको समेत सुनाइन् । अहिले जङगल जानु नपर्ने बताइन् ।

गाँउघरमा यत्रतत्र फालिने गरेका केराका थम्बाको उपयोग गरेर यतिका आकर्षक सामग्री बनाउनुका साथै आयआर्जनसमेत गर्न पाइने भएकोमा घरपरिवारले चासो र रुचि देखाएको उनले सुनाइन् । उनले भनिन्, ‘घरमा परिवार सबैजना खुसी हुनुहुन्छ । आमाबुबाले केराको खम्बा काटेर ल्याइदिनु हुन्छ भने श्रीमान्ले रेसा बनाइदिनुहुन्छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>