चितवन विशेष

बजार बन्दको विषयमा चितवनका व्यवसायीबीच विवाद, उद्योग वाणिज्य संघ अनिर्णित

Banner

नारायणी अनलाइन डेस्क

चितवन, जेठ २७-

हप्ताको एक दिन गरिने बजार बन्दबारे नारायणगढ क्षेत्रका व्यवसायीबीच विवाद बढ्दै जाँदा सेवाग्राही अन्योलमा परेका छन् ।

कोही व्यवसायी शनिबारको पक्षमा देखिएका छन् भने कोही सोमबारको पक्षमा देखिएका छन् । यसअघि सोमबार नारायणगढ क्षेत्रका व्यवसाय बन्द हुँदै आएकोमा वैशाखबाट भने शनिबार र सोमबार दुई दिन नै बजार बन्द हुन थालेको छ । यसबारे उद्योग वाणिज्य संघ चितवनले कुनै निर्णय लिन सकेको छैन ।

भरतपुरको नारायणगढ क्षेत्रमा व्यवसाय गर्दै आएका विभिन्न ३० वटा वस्तुगत संघ मध्ये अधिकांश शनिबार बजार बन्द गर्नुपर्ने पक्षमा देखिन्छन् भने पाँच वटाले मात्र सोमबारकै बन्द गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताइरहेका छन् । आआफ्नै तर्कले गर्दा व्यवसायीबीचको एकता पछिल्लो समयमा विवादमा परिणत हुँदै गइरहेको छ ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले बहुसंख्यक वस्तुगत संघहरु शनिबार बन्द गर्नुपर्ने पक्षमा देखिए पनि सबैलाई मिलाएर लैजान वाणिज्य संघले पहल गरिरहेको बताए । उनले भने, ‘वाणिज्य संघले दुवै पक्षका व्यवसायीलाई बोलाएर छलफल गरिसकेको छ । दुवैका आआफ्ना तर्कहरु रहेका छन् । हामी सकभर सर्वसम्वत् नै गराएर निर्णय गर्नेछौं ।  उनले फेन्सी, सुनचाँदी, कपडा, सिलाइलगाययका वस्तुगत संघहरु भने सोमबार बन्द गर्ने पक्षमा रहेको बताए । सकभर कोही शनिबार खोल्ने र कोही सोमबार खोल्ने भन्दा पनि सबैमा एकरुपता आउनुपर्ने उनले बताए ।

फेन्सी व्यवसायी संघका निवर्तमान अध्यक्ष बालकृष्ण कँडेलले वर्षाे अघिदेखि सोमबार बजार बन्द गर्दै आएकोले सोमबारको बन्द चितवनको लागि पहिचान भइसकेको बताए । उनले भने, ‘शनिबार बिदाको दिन ग्राहकहरु फुर्सदले सपिङ गर्न आउने भएकोले धेरै कारोबार हुने दिन हामी बन्द गर्न सक्दैनौं ।’ उनले धेरै कारोबार हुने दिन जानीजानी हामी बन्द गर्न नसक्ने विचार राखे । त्यस्तै चितवन अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष कृष्ण काफ्लेले २०६८ सालदेखि नै आफूहरु शनिबार बजार गर्नुपर्छ भनेर माग गर्दै आएको बताए । उनले बहुसंख्यक वस्तुगत संघले शनिबार बजार बन्दको प्रस्ताव गरिसक्दा पनि आफूहरुको छाता संगठन उद्योग वाणिज्य संघले बजार बन्दको निर्णय गर्न नसकेको बताए । उनले हार्डवेयर, अटो मोबाइल्स, हार्डवेयर, विद्युतीय सामग्री र भाडा वर्तन सबै शनिबार बन्दकै पक्षमा रहेको जानकारी दिए ।

अध्यक्ष काफ्लेले व्यवसायीको व्यवसायसँगै पारिवारिक र सामाजिक जीवन पनि रहेकोले घरपरिवारलाई समय दिन पनि शनिबार बिदा हुनुपर्ने विचार राखे । उनले भने, ‘ नेपालका अन्य बजार सबै शनिबार बन्द हुँदा चितवनमा भने सोमबार बन्द हुनु आश्चर्य छ । सार्वजनिक बिदाको दिन व्यवसाय बन्द गर्नु वैज्ञानिक हुन्छ । ’वैशाख ७ गतेबाट चितवन अटो मोबाइल एसोसियसन, चितवन अटो मेकानिकल व्यवसायी संघ र नेपाल अटोमेकानिकल ट्रेड युनियन महासंघ अन्तर्गतका व्यवसाय शनिबार बन्द हुन थालेको छ । यी तीनवटा संस्थाबाहेक अन्य व्यावसायिक संघसंस्थाले भने सोमबार बजार बन्द गर्दै आएका छन् ।

कुन दिन बन्द गर्ने भन्ने विवाद धेरै वर्ष अघिदेखि उठ्दै आएको विषय भएको व्यवसायीहरुले बताए । शनिबार काठमाडौँ बन्द हुने भएकोले सामान ल्याउन सजिलो हुने फेन्सी व्यवसायीहरु बताउँछन् । एकै दिन धेरै प्रकारका सामान किन्न बजार जाने उपभोक्ता भने समस्यामा परेका छन् । आधा सटर बन्द र आधा सटर खुला देख्दा बन्द कुन दिन हो भन्ने अन्यौल सब उपभोक्तामा देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>