चितवन विशेष

२३ वर्षमै रेष्टुरेन्टको मालिक बनिन् रन्जता, मासिक तीन लाख कमाईँ

Banner

निशा श्रेष्ठ

चितवन, साउन ८

तारन्तार फोनको घन्टी कसैलाई चिकेन रोल त कसैलाई झोल ममदेखि परौठा र अनेक परिकारको अर्डर टिप्न व्यस्त छन् २३ वर्षीय रन्जता शर्मा । सामान्य ड्रेसअपमा सजिएकी उनी हरबखत रेष्टुरेन्टको काममा व्यस्त रहन्छिन् । उनको अनुहारमा रहरलाग्दो आत्मविश्वास झल्किएको देखिन्छ ।

पर्वत दुर्लुङ स्थायी घर भएकी रन्जताले भर्खरै बीबीए सकाएर आफ्नै लगानीमा सप्तगण्डकी चोकदेखि २०० मिटर भित्र बेलना रेष्टुरेन्ट खोलेकी छन् । झन्डै १० देखि ११ लाखको एक्लो लगानीमा रेष्टुरेन्ट खोलेको उनी बताउँछिन् । त्यसो त उनका उमेरका साथीहरु विदेश गइरहँदा उनी भने सगौरव भन्छिन्, ‘नेपालमा पनि अवसर धैरै छ । आफूले अध्ययन गरिसकेपछि केही न केही आइडिया सबैसँग हुन्छ तर त्यसलाई कसरी समात्ने र प्रयोग गर्ने भन्ने जान्नुपर्छ ।’ उनी अझै थप्छिन् ‘आफूले आँटेको काममा सफल भइन्छ भन्ने पनि छैन तर एक दुई चोटी फेल भइएला तर प्रयास गर्न छाड्नुहुदैन र आफू पनि यहि मान्याताले अघि बढ्छु’ उनले मुस्कुराउँदै भनिन् ।

बीबीए पढेर बैँक मै अथवा कन्सलटेन्सी तिर मात्रै लाग्नुपर्छ भन्ने उनलाई लाग्दैन । त्यसो त उनी भन्छिन् ‘मैले होटल चलाए भन्दैमा पकाउने मात्रै जान्नुपर्छ भन्ने होइन व्यवस्थापन (म्यानेजमेन्ट ) महत्वपूर्ण पाटो रहेको छ ।’ होटल चलाइरहँदा आफ्नो व्यावसायलाई कसरी बढाउने कहाँ कसरी व्यावस्थापन गर्न सकिन्छ त्यो महत्वपूर्ण रहेको उनी सुझाउँछिन् ।

होटल क्षेत्रमा पनि प्रतिस्पर्धा बढिरहँदा आफूले अध्ययन गरेर मात्र यस क्षेत्रमा लागेको उनी भन्छिन् ।काठमाडौँ  गएर झन्डै एक हप्ता अध्ययन गरेर ग्राहकलाई नयाँ नयाँ स्वादका आइटम (परिकार ) पस्किरहेको उनी बताउँछिन् । उनको रेष्टुरेन्टमा सामान्य होटलमा भन्दा फरक स्वादका परिकारमा ममका विभिन्न आइटम झोल मम, एभरेष्ट मम, भेज ममदेखि चिकेन रोल, क्याथे रोल, लाफिङ, दरबारे लस्सी तथा पानी पुरी पनि नयाँ स्वादमा पाइन्छ ।

गैँडाकोटदेखि भरतपुर नारायणगढ बजार क्षेत्र तथा सकेसम्म भरतपुरका हरेक क्षेत्रमा खानेकुरा निःशुल्क डेलिभेरी गरिने गरेको उनले बताइन् । उनी आफू मात्रै होइन होटलमा थप सात जना कर्मचारी रहेको र कोही कुकिङ कोही डेलिभरीको काम मा खटिने गरेका छन् । रेष्टुरेन्ट सञ्चालन गरेको भर्खरै तीन महिना मात्र भए पनि ग्राहकको भीडभाड र डेलिभरीको लागि भने धेरै नै फोन आउने गरेको देखिन्छ । उसो त मार्केटिङ पनि उत्तिकै आवस्यक रहेको उनले बताउँछिन । उनले विज्ञापन र जनसम्पर्कको लागि ब्रुसर बाड्न बजारमा कर्मचारी नै खटाएकी छन् । एसोएअस बालग्राममा १० कक्षासम्म , आरोमा उच्च माविमा १२ सम्म र बोस्टन इन्टरनेशनल कलेजबाट बीबीए उत्तीर्ण गरेकी उनी आफूलाई आफ्नो गुरुहरुको उचित शिक्षा र उत्प्रेरणाले यस क्षेत्रमा लाग्न सहज भएको बताउँछिन् । बैँकमा लाग्दा राम्रो हुन्छ भनेर सुरुसुरुमा परिवारले बताए पनि अहिले परिवार साथिभाइको प्रतिक्रियाबाट सन्तुष्ट रहेको उनको भनाइ छ ।

दैनिक २० देखि २५ हजार र मासिक ७ लाखसम्म आम्दानी रहेको र आगामी दिनमा व्यावसाय विस्तारको बारेमा सोचिरहेको उनले जानकारी दिइन् । खर्च कटाएर उनले मासिक तीन लाख रुपैयाँ बचाउँछिन् । उनको यो कदम सम्पूर्ण युवा जो विदेशको मोह र सरकारी जागिरको जोहोमा लागेकाहरुको लागि उदाहरणिय छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>