कालिका

ड्राइभर पेसासँगै तरकारी खेतीमा रमाउँदै चितवनका धनबहादुर तामाङ

Banner

चितवन, मंसिर ४-

धादिङमा जन्मिएर चितवनलाई कर्मथलो बनाएका कालिका नगरपालिका–२ पदपुरका ५२ वर्षीय धनबहादुर तामाङ ड्राइभर पेसाको साथमा तरकारी खेतीमा रमाइरहेका छन् । उनी बोलेरो पिकअप भ्यानका ड्राइभर हुन् । रिजर्भ पाएसम्म उनी रिजर्भमा जान्छन् र खासै मानिस नपाए उनी घरमा परिवारसँगै तरकारी खेतीमा रमाउँछन् ।

उनले साढे पाँच कठ्ठामा गोलभेँडा र एक कठ्ठा पाँच धुरमा बोडी लगाएका छन् । पदपुरको भाइरल घरको पछाडि पर्ने जग्गामा उनले तरकारी लगाउन थालेको तीन वर्ष भयो । उनले नारायणी अनलाइनलाई भने, ‘ अहिले गाडी धेरै भएकोले गाडीको व्यापार घट्दै गएकोले तरकारी खेतीमा आकर्षित भएँ । तालिम केही नगरी तरकारी खेतीमा प्रवेश गरेको तीन वर्ष भयो । राम्रो आम्दानी गरिरहेको छु । अब सरकारबाट अनुदान पाउने अपेक्षा पनि गरेको छु ।’

धनबहादुरलाई उनकी श्रीमती आइतीमायाले कृषि व्यवसायमा साथ दिइरहेकी छन् । उनको दुई छोराले पनि कृषि व्यवसायमा प्रोत्साहित गरिरहन्छन् । उनले हरेक वर्ष सिजनमा गोलभेँडाबाट चार लाखसम्म र बोडीबाट डेढ लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन् । उनलाई पहिले ड्राइभर पेसा रमाइलो लागे पनि अहिले भने कृषि पेसा रमाइलो लाग्ने गरेको छ । तामाङले नारायणी अनलाइनलाई भने, ‘ पहिलो उमेर छँदा ड्राइभर पेसा रमाइलो लागे पनि अहिले उमेर छिप्पिएसँगै तरकारी खेतीमा रमाइलो लागिरहेको छ । २०५८ सालबाट ड्राइभिङ गर्दै आएको थिएँ ।’ उनले तरकारी खेतीको आम्दानीबाट राम्रोसँग घर खर्च चलिरहेको बताए ।

धनबहादुरको साढे तीन कठ्ठा आफ्नै जग्गा छ भने आठ कठ्ठा जग्गा वार्षिक ३२ हजार भाडा तिर्ने गरी लिएका छन् । नेपालमा नै काम गरे पर्याप्त पैँसा कमाउन सकिन्छ भन्ने आत्मविश्वासले विदेश जान खासै चासो राखेनन् । सुरुमा केराखेतीमा लागेका उनी केरामा धेरै रोगको प्रकोप देखिएपछि तीन वर्ष अघि नै केराखेती छाडेर तरकारी खेतीमा आकर्षित भएका हुन् । आफूले उत्पादन गरेको गोलभेँडामा पर्याप्त विषादी नहुने उनले दाबी गरे ।

उनले भने, ‘ भुसुनाले गोलभेँडालाई असर गर्ने भएकोले जटिल खालको औषधि गोलभेँडालाई प्रयोग गर्नु पर्देन । सूर्य जातको गोलभेँडा लगाएको छु । खासै जटिल खालका औषधि प्रयोग गर्दिन । औषधि प्रयोग गरेको तत्काले गोलभेँडा टिप्दिन ।’ उनको गोलभेँडा र तरकारी काठमाडौँ, पोखरा र चितवनको स्थानीय बजारमा पुग्ने गरेको छ । पहिले तरकारी खेती गरेर झन्झट ग¥यो भन्न स्थानीयहरु पनि अहिले धनबहादुरको मेहनतको प्रशंसा गर्न थालेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>