चितवन विशेष

भरतपुरमा ८ कक्षा पढेका दिपक बने उद्यमी, मासिक कमाउँछन् तीन लाख रुपैयाँ, ४० जनालाई रोजगारी

Banner

चितवन, भदौ १९

भरतपुर महानगरपालिका–२७ वनकट्टा घर भएका दिपक चौधरीको मेहनत र श्रमको तारिफ नगर्ने शहरमा कमै होलान् । सबै साथीहरु विदेश गइरहेको समयमा उनले विदेश नजाने निर्णय गरी नारायणगढमा ओम साइराम नेपाली तयारी पोशाक उद्योग सञ्चालन गर्दै आइरहेका छन् । सानैदेखि कुनै पनि काममा आफै नेतृत्वदायी भूमिका खेल्न रुचाउने उनले ३७ वर्षको उमेरमा भरतपुर–२ क्षेत्रपुरमा उद्योग खोल्न सफल भएका हुन् ।

तीन जनासँग मिलेर उद्योग सञ्चालन गरेका ४६ वर्षीय चौधरी ओमसाईराम नेपाली तयारी पोशाक उद्योगका निर्देशक हुन् । उनले भने, ‘ साथीभाई सबै विदेश गए पनि नेपालमा केही नयाँ गर्छु भन्ने सोच लिएर अगाडि बढेँ ।’

उद्योग सञ्चालन गरेको सुरुवाती चरणमा ६ जना कर्मचारीलाई रोजगारी दिएर उद्योग सञ्चालन गरेका उनले अहिले ४० जनालाई रोजगारी दिँदै आइरहेका छन् । २०७२ साल कात्तिक २ गते स्थापना भएको उद्योगबाट महिनामा सबै खर्च कटाएर एक लाख पचास हजार कमाइ हुन्थ्यो भने अहिले महिनामा सबै खर्च कटाएर तीन लाखसम्म कमाइ हुने गर्छ ।

कक्षा ८ मा पढ्दा पढ्दै उनले घरको आम्दानीको स्रोत केही नभएपछि भारत गएर गार्मेन्टको काम सिक्न सुरु गरेका थिए । जब उनले भारतमा ६ वर्षसम्म गार्मेन्टको काम सिके तब उनले नेपालमा केही गर्छु भन्ने सानै देखिको सपना पूरा गर्ने सोच राखेका थिए । त्यस पश्चात उनले चितवनमा आएर ओमसाईराम नेपाली तयारी पोसाक उद्योग सञ्चालन गरे । अहिले दैनिक अधिकांश समय उनले उद्योगमा नै मेहनत गरिरहेका छन् । उनले उद्योग खोल्दा धेरै चुनौतीको सामना गर्नुपरेको सुनाउँछन् । उनले भने,‘उद्योग सञ्चालन गरिराख्दा धेरै चुनौती आए । देशको आर्थिक स्थिति कमजोर छ । यस्तो अवस्था भएता पनि नेपालमै मेहनत गर्छु भनेर निरन्तर मेहनत गरिराखेँ । आज सफल उद्यमी बन्न सफल भएको छु ।’ भारतमा ६ वर्षसम्म काम सिकिसकेपछि उनले काठमाडौंमा चार वर्ष काम पनि गरेका थिए ।

उनले चार वर्षसम्म नेपालको बजार बुझेर, कस्तो सामान मान्छेले खोजिरहेका छन् त कस्तो सामान बनाउँदा ठिक हुन्छ भनी सोच राखेका थिए । उनले यसरी लामो समयसम्म बजार बुझ्दा आफैँले उद्योग खोल्न सक्छु भन्ने सोच उनमा आएपछि उद्योग खोलेका थिए । उनले पुर्खेउली  सम्पत्ति पशस्त भएता पनि आफैँले केही नयाँ गर्छु भन्ने सोचका साथ परिवारको सम्पति उद्योगमा खर्च गरेनन् । आफैँले ऋण लिएर उद्योगको सुरुवात गरे ।

उद्योगमा सट, पाइन्ट, टिसर्ट, जिन्सको पाइन्ट बनाइने उनको भनाइ रहेको छ । पहिला पाँच छ वटा प्रकारका कपडा बनाउने गर्दथ्यो भने अहिले २५ देखि ३० ओटा प्रकारका कपडा बनाइन्छ । उद्योगमा बनाएको कपडा हेटौँडा, धनगढी, नेपालगञ्ज, सुर्खेत, दाङ, बुटवल, भैरहवालगायतअन्य ठाउँमा पठाइने गर्छ ।

विगतमा कम लगानीमा उद्योग सञ्चालन गरेर सफल हासिल गर्न नसके पनि अहिले ८–९ वर्षको मेहनतले आफू सफल उद्यमी बन्न सकेको उनी सुनाउँछन् । उनले मानिसमा मेहनत र लगनशिलताभयो भने नेपालमै केही गर्न सकिन्छ भन्ने सुझाव युवालाई दिएका छन् । उनले भने, ‘कोशिस गरे नेपालमा जे पनि गर्न सकिन्छ, विदेशिनु पर्दैन । तर मान्छेमा मेहनत र लगनशिलता हुनुपर्छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>