Breaking News
चितवनबाट अपहरणमा परेपछि किशोरले कागजमा लेखेर छाडेका थिएः हेल्प,प्रहरीलाई फोन गर्नू !

चितवन,असार ३-
चितवनबाट अपहरणमा परेका किशोरले आफू अपहरणमा परेपछि फुत्किनका लागि जुक्ति लगाएको खुलेको छ। आइतबार अपहरण गरी काठमाडौं पुर्याइएका १६ वर्षीय किशोरको सोमबार काठमाडौंको नयाँबजारस्थित एक होटलबाट उद्धार भयो। काठमाडौं प्रहरीलाई एक युवाले एउटा चिर्कटो फेला परेको भनेर खबर गरेका थिए।
त्यसमा लेखिएको थियो, ‘हेल्प, मेरो नाम …. गुप्ता। मेरो बाबाको नाम …..गुप्ता। म नारायणघाटबाट हो। प्लिज कल पुलिस। मेरो बाबाको नम्बर ९८४५……(किडन्याप्ड)।’
उनले यो कागज होटल नजिकैको एक चउरमा फ्याँकेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए।
यो चिर्कटो फेला परेपछि युवकले प्रहरीलाई खबर गरेका थिए। ‘यो कागज फेला परेपछि हामीलाई खबर भयो। बालक अपहरणको विषय एकदम संवेदनशील भएकाले हामीले यहाँबाट टेकओभर गरी उद्धारको अपरेसन चलायौं,’ एसएसपी खड्काले भने।
प्रहरीले यही विषयमा अपहरित किशोरका बुबासँग पनि कुरा गरेको थियो। प्रहरीले थाहा पाउनुअघि अपहरणमा संलग्न व्यक्तिहरूले फिरौती पनि मागिसकेका थिए। ‘उनीहरूले बुवालाई फोन गरी २२ लाख रूपैयाँ मागेका थिए। फिरौती मागिसकेको विषयमा पनि परिवारले प्रहरीलाई खबर गरेका रहेनछन्। यस विषयमा चितवन प्रहरीले अनुसन्धान गरिरहेको होला,’ उनले भने।
अपराध अनुसन्धान कार्यालयको टोली होटलमा पुग्दा तीन जना त्यहीँ फेला परेका थिए। दुई जना भने बाहिर गएका थिए। पछि उनीहरू पनि त्यहीँ आइपुगेका थिए। ‘होटलमा किशोरलाई कुटपिट र ज्यान समेत मार्ने धम्की दिइएको थियो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने।
प्रहरीले अपहरणमा संलग्न सुजित कुमार, गोलु कुमार, अर्का गोलु कुमार, बिक्की कुमार र मोहम्मद शाहिदलाई पक्राउ गरेको छ। उनीहरू सबै जना भारतीय नागरिक हुन्। उनीहरू पनि १८ वर्षकै छन्। कक्षा ७ मा पढ्ने अपहरणमा परेका किशोर र सुजित कुमार साथी थिए।
तर बीचमा सुजित कुमारले विद्यालय छाडे। केही वर्षपछि सुजितले फेरि इन्स्टाग्राममार्फत किशोरसँग सम्पर्क गरे। त्यसपछि भेट्न बोलाए। बोलाएर सुरूमा गाडीमा हालेर चितवनकै एउटा होटलमा राखिएको थियो। तर त्यहाँबाट उनीहरूले ती बालकलाई भारतीय नम्बरको गाडीमा हालेर काठमाडौं लगेका थिए।
चितवनबाट अपहरणमा परेको खबर भएपछि डिएसपी सुवास भट्टले अपराध अनुसन्धान कार्यालयसँग उद्धारका लागि समन्वय गरेका थिए। भट्टका अनुसार चितवनमै पनि एक जना पक्राउ परेका छन्। अपहरणमा परेका किशोरका परिवार सुनको कालिगढी सम्बन्धित काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
























