चितवन विशेष
पेट्रोलियम पाइपलाइन चितवनको लोथरसम्म ल्याइने, प्रारम्भिक सर्वेक्षण सकियो

चितवन,भदौं २४-
अमलेखगञ्ज, बारा भारतको मोतिहारिदेखि बारामा अमलेखगञ्जसम्म आइपुगेको पेट्रोलियम पाइललाइन चितवनसम्म ल्याउन सर्वेक्षण सुरु भएको छ । अमलेखगञ्ज देशको एउटा कुनो मात्रै भएको र त्यहाँबाट अन्यत्र डिजल ढुवानी गर्दा महँगो हुने भएकाले देशको मध्य भागसम्म पाइपलाइन पुर्याउन सरकारले तयारी थालेको हो ।
चितवनको लोथरसम्म हामीले प्रारम्भिक सर्वेक्षण गरिसकेका छौँ, अब पाइपलाइन चितवनसम्म लैजान्छौ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भन्नुभयो । निगमले चितवनको लोथरसम्म पाइपलाइन पुर्याउन रुट सर्वे गरिसकेको छ । अब विस्तृत सर्वे गरिसकेपछि लागत पनि टुंगो लाग्नेछ । अहिले अमलेखगञ्जसम्म भारतबाट पाइपलाइनमार्फत तेल आए पनि पूर्वी र पश्चिम नेपालका डिपोबाट अमलेखगञ्ज जान भन्दा भारत जान नजिक पर्छ ।
अमलेखगञ्जमा अहिले दैनिक ४८ लाख लिटरसम्म डिजल ल्याउन सकिन्छ । यो देशको कुल मागको ७५ प्रतिशत हो । तर दूरी र कम भण्डारण क्षमताको कारण पूर्ण क्षमतामा डिजल ल्याउन सक्ने अवस्था छैन ।























