कालिका

चितवनको कालिकामा सडक निर्माणमा चरम लापरवाही, निर्माण सम्पन्न नहुँदै भत्कियो, केराको पातले पिच छोप्दै ठेकेदार

Banner

चितवन, भदौं १६-

भूकम्प आपतकालिन सहयोग परियोजनाअन्तर्गत चितवनको कालिका नगरपालिकामा निर्माण भइरहेको कालोपत्रे सडकको निर्माण कार्य सम्पन्न नहुँदै भत्कन सुरु गरेको छ ।

कालिका नगरपालिकाको जुटपानीदेखि शक्तिखोरसम्म निर्माण भइरहेको सडक यतिबेला ठाँउठाउँमा भत्कन सुरु गरेको हो । ठेकेदारको चरम लापरवाहीका कारण सडक भत्कन सुरु गरेको स्थानीयको भनाइ छ ।

कालिका नगरपालिका–८ का वडाध्यक्ष इमप्रसाद अधिकारीका अनुसार निर्माणाधीन अवस्थामा रहेको उक्त सडक भत्कनमात्रै थालेको नभई सडक छेउमा निर्माण गरिएको नाली समेत भत्किएको छ । अधिकारीका अनुसार ठेकदारसँग आफूहरुले पटक–पटक स्टिमेट माग गरेको भए पनि स्टिमेट नदिएर मनलाग्दी सडक निर्माण गर्दा सडकको बीचबीचमा ठूलै खाडल परेको हो । ठेकेदार कम्पनीले सडकको दुवैतर्फ नाली काट्ने भनिए पनि कतिपय ठाउँमा सडकको पहिलो चरणको पिच सकिएको अवस्थामा पनि नाली काट्न बाँकी रहेको अधिकारीले बताए ।

पहिलो चरणको पिच गरिसकेको उक्त सडकमा एक महिना नबित्दै खाडल परेपछि यति बेला जनताको आँखामा छारो हाल्न केराको पातले सडक टालिएकोे छ । स्थानीय गंगा गुरुङको घर अगाडिको सडकमा खाडल परेको छ । सडक निर्माण गरेको एक महिना नबित्दै खाडल परेपछि निर्माण कम्पनीले खाडल पुर्दै केराको पातले छोप्ने काम गरेको गुरुङले बताए । सडकमा सात मिटर पिच हुने भनिएको भए पनि हाल पाँच मिटर मात्रै सडक पिचको काम भएको स्थानीयको भनाइ छ । सडक के कति रकममा निर्माण हुन लागेको हो र कहिले बाट काम सुरु भएको हो र यसको निर्माण कार्य कसरी गरिन्छ भन्ने विषयमा सूचना दिइँदैन । गुरुङका अनुसार पहिलो चरणको पिच गर्ने क्रममा जनतालाई यात्रा गर्न नदिएर निर्माण गरेको भए पनि दोस्रो चरणको पिच गर्नुभन्दा अगाडि नै सडक भत्केको छ ।

कालिका नगरपालिकाले सडक भत्केको ठाउँमा मनलाग्दी खाडल नपुर्न आग्रह गरेको छ । वडा नम्बर ९ का वडाध्यक्ष हेमबहादुर डल्लाकोटीेले भत्केको ठाँउमा नखनेरै नियम विपरित खाडल पुर्ने काम भएको भन्दै तत्काल काम रोक्न निर्देशन दिएको बताए । उनले ठेकेदारले बाटोको स्टिमेट लुकाएर काम गर्दा यस्तो अवस्था आएको दाबी गरे । सडकको दुवैतर्फ निर्माण गरिएको नाली समेत यतिबेला भत्किसकेको छ ।करिब १३ किलोमिटर लामो सडक निर्माणको लागि काठमाडौंको स्वच्छन्द निर्माण प्रालिलाई २२ करोड ८१ लाख रुपैयाँमा ठेक्का दिइएको हो । ११ मिटर फराकिलो सडकमा कालोपत्रे गर्न १८ महिनाको सम्झौता भए पनि निर्माणको समय अवधि सकिन लाग्दा समेत काम भने चित्त बुझ्दो तरिकाले भएको छैन । यो सडकको सम्झौता कात्तिकमा सकिँदै छ ।

उक्त सडकअन्तर्गत बकुलहरदेखि जुटपानीसम्मको भागमा कालोपत्रे भत्केको ठाउँ र ग्राबेल भएको ठाउँमा पक्की सडक निर्माण गर्ने तथा जुटपानीदेखि शक्तिखोरसम्म कालोपत्रे गर्ने र शक्तिखोरदेखि सिद्धीसम्म उच्चस्तरका ग्राबेल गर्ने गरी निर्माण सम्झौता भएको हो । बकुलहर, जुटपानी, शक्तिखोर सिद्धी सडकको प्रदेशसभा सदस्य घनश्याम दाहालले शीलान्यास गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>