खैरहनी

तीजको अवसरमा खैरहनीमा निःशुल्क नौनी घिउ वितरण

Banner

चितवन, भदौ १४-

नेपाली महिलाको महान चार्ड हरितालिका तीजको अवसर पारेर चितवनको खैरहनी नगरपालिका–१० शान्तिबजार स्थित नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले सेयर सदस्य तथा कर्मचारीलाई निःशुल्क नौनी घिउ वितरण गरेको छ ।

तीजलाई लक्षित गर्दै प्रति सेयर सदस्य एक किलोका दरले नौनी घिउ वितरण गरेको संस्थाका अध्यक्ष कमलराज थपलियाले जानकारी दिए । नन्दिनी सहकारीको ४२७ जना सेयर सदस्य तथा १० जना कर्मचारी छन् । अब केही सेयर सदस्यलाई मात्र वितरण गर्न बाँकी छ । प्रति किलो नौनीलाई ७२० रुपैयाँ पर्छ । संस्थाले तीन लाख १४ हजार ६४० रुपैयाँमा खरिद गरेर नौनी घिउ वितरण गरेको अध्यक्ष थपलियाले बताए ।

नन्दिनी दुग्ध उत्पादक सहकारीले विगत तीन वर्षदेखि तीजको अवसर पारेर नौनी घिउ वितरण गर्दै आएको छ । चाडवाडलाई लक्षित गर्दै किसानलाई बडादसैँमा प्रति लिटर तीन रुपैयाँका दरले बोनससमेत वितरण गर्दै आएको संस्थाका व्यवस्थापक लीलाबहादुर थपलियाले जानकारी दिए । त्यस बाहेक सो सहकारीले गाईभैसीलाई सुत्केरी भत्ता, घाँसमा अनुदान, सेयर सदस्यको निधन भएमा भेटी स्वरुप पाँच हजार रुपैयाँ प्रदान गर्दै आएको छ । सो सहकारीको तीन वटा सेवा केन्द्र छ भने यही भदौ १६ गते खैरहनी–१० कठारमा अर्को सेवा केन्द्र विस्तार गर्दैछ । यसअघि राप्ती–६ को पुरवारी, खैरहनी–९ को बैरहनी र खैरहनी–७ को गौचरनमा सेवा केन्द्र स्थापना गरिसकेको छ । दैनिक चार हजार लिटर दुग्ध संकलन गर्दै आएको सो सहकारीले विगत एक वर्षदेखि आफैले पनिर र दही उत्पादन गरेर बिक्री वितरण गरिरहेको संस्थाका निवर्तमान अध्यक्ष एवम् दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य बालकृष्ण उप्रेतीले जानकारी दिए । सो सहकारीले डेरी उद्योग सञ्चालन गर्ने समेत तयारी गरिरहेको छ । प्रत्यक्ष किसानको समेत लगानीमा उद्योग स्थापना गर्न लागिएको निवर्तमान अध्यक्ष उप्रेतीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>