कालिका

शमीपुर विद्यालयलाई फेस नेपालको एक लाख सहयोग

Banner

चितवन, साउन २९–

श्री राष्ट्रिय आधारभूत विद्यालय शमीपुरलाई सहयोगी संस्था फेस नेपालले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयको परिसरमा निर्माणाधिन अवस्थामा रहेको भवनको प्लाष्टर र रङरोगनका लागि फेस नेपालका संयोजक श्रीराम देवकोटाले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कालिका नगरपालिकाका नगरप्रमुख खुमनारायण श्रेष्ठले शिक्षाको विकास नभएसम्म समाज रुपान्तरण हुन नसक्ने बताए । समाज रुपान्तरणका लागि भए पनि शिक्षामा लगानी आवश्यक भएको उनको तर्क छ । शिक्षामा गरिएको लगानी खेर नजाने भन्दै नगरप्रमुख श्रेष्ठले ढिलोचाडो भए पनि नतिजा अवश्य आउने बताए । कालिका नगरक्षेत्र भित्रका स्कुलहरुमा फेस नेपालको लगानीले आफू पनि उत्साहित भएको बताउँदै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले पनि शमीपुर विद्यालयलाई ९८ लाख रुपैयाँ बराबरको २ वटा भवनका लागि लगानी गरेको जानकारी दिए ।

नगरप्रमुख श्रेष्ठले नगरक्षेत्रको शैक्षिकस्तर वृद्धिका लागि शिक्षकहरुका ग्रेड निर्धारण गर्ने योजनाका साथ अगाडी बढ्न लागेको जानकारी दिए । ‘शिक्षकहरुको पनि ग्रेडिङ सुरु हुन्छ, ‘डी’ ग्रेड ल्याउने शिक्षकहरुलाई घर पठाउने योजना छ’–नगर प्रमुख श्रेष्ठले भने ।

कार्यक्रममा फेस नेपालका संयोजक श्रीराम देवकोटाले समाजले अपनत्व महशुस गर्ने गरी मात्रै आफूहरुले काम गर्ने गरेको बताए । पाँच वटा विद्यालय र ७ वटा टोल विकास संस्थासँग समन्वय गर्ने गरी आगामी तीन वर्षीय योजना समेत तयार भइसकेको देवकोटाले जानकारी दिए । शमीपुर विद्यालयको विकासका लागि २०६८ सालदेखि फेस नेपालले सहकार्य गर्दै आएको छ । फेस नेपालको सहयोगमा भौतिक संरचना निर्माणदेखि लाइबेरी कक्षको रङरोगन गर्नेसम्मको काममा आर्थिक सहयोग गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष लिलाबहादुर गुरुङले शमीपुर यस विद्यालयलाई चितवनकै नमुना विद्यालय बनाउने योजना रहेको बताए । वडा कार्यालयले विद्यालयको भौतिक संरचनाको विकासका लागि गत वर्ष १० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै अध्यक्ष गुरुङले यो वर्ष पनि १० लाख रुपैयाँ नै बजेट विनियोजन गरिएको जानकारी दिए ।

कार्यक्रममा शिक्षक संगठनका पूर्व अध्यक्ष पूर्ण पुरी, कालिका नगरपालिकाका शाखा अधिकृत ऋषिराम शर्मा, नेपाल कम्युनिष्ट (नेकपा)का नगर अध्यक्ष भिष्म खनाल, काँग्रेस नगर सभापति राजु श्रेष्ठलगायतले विद्यालयको गतिविधिबाट अभिभावकहरु पनि खुशी भएको भन्दै प्रशंसा गरेका थिए । विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा फेस नेपालका संयोजक श्रीराम देवकोटा र पत्रकार सन्तकुमार चौधरीलाई दोसल्ला र सम्मानपत्रले सम्मान समेत गरिएको थियो ।

कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका संयोजक सोमबहादुर खड्काको अध्यक्षतमा भएको थियो । कालिका नगरपालिकाको वडा नं. १ सूर्यपुरमा रहेको यो विद्यालय कालिका नगरपालिकाको ३५ वटा सामुदायिक विद्यालय मध्ये नमुना विद्यालयको रुपमा स्थापित हुँदै गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>