कृषि
चितवनको माडीमा गाईभैसीलाई सुत्केरी भत्ता वितरण सुरु

चितवन, साउन २८-
पशुपालन व्यवसाय र दुग्ध व्यवसायलाई प्रोत्सान गर्न चितवनको माडी नगरपालिकाले कृतिम गर्भाधानबाट गाईभैसी सुत्केरी हुँदा सुत्केरी भत्ता दिन सुरु गरेको छ ।
नगरबासी कृषकले पालेका गाईभैसी सुत्केरी हुँदा एक हजार रुपैयाँ नगरपालिकाले उपलव्ध गराउने जनाएको छ । अहिले सम्म १७८ जना किसानले रकम बुझेको नगरपालिकाका सूचना अधिकारी प्रविन भण्डारीले जानकारी दिए । नगरपालिकाभित्र कुनै गाइभैँसी सुत्केरी भएको छ भने किसान आफँै उपस्थित भएर नगरपालिकामा निवेदन दिने र पशु शाखाका कर्मचारीहरुले स्थलगत अनुगमन गरेपछि मात्र रकम उपलव्ध गराउने माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकालले बताए ।
सुत्केरी भत्ता पाउन योग्य गाईभैसीको लागि निवेदन दिन किसानलाई आह्वान गरिएको छ । माडीमा उत्पादित दूधलाई बजारको अभाव रहेको गुनासो आएको हँुदा दूध डेरी सञ्चालन गर्न इच्छुकलाई समेत नगरपालिकाले सहयोग गर्ने नगरपालिकाले जनाएको छ ।
यसैबीच दूध बिक्री गर्दा कृषकलाई नगरपालिकाले प्रति लिटर तीन रुपैयाँ अनुदान दिइरहेको माडी नगरपालिकाका नगरप्रमुख ढकालले जानकारी दिए । अहिलेसम्म १२ लाख १६ हजार ६६७ लिटरमा ३६ लाख ५० हजार रुपैयाँ अनुदान दिइएको छ । अनुदान प्राप्त गरेका कृषकले समेत स्थानीय सरकारले थालेको अभियान सकारात्मक भएको बताएका छन् । बिचौंलियाका कारण सस्तो मूल्यमा दूध बिक्री गर्ने बाध्यता अब अन्त्य भएको दुग्ध उत्पादक कृषक समूहको भनाइ छ । पहुँचको आधारमा अनुदान वितरण हुने गुनासा आउने गरेको भन्दै स्थानीय कृषकले यस्तो काम माडी नगरपालिकामा नहुने आशा ब्यक्त गरे ।