चितवन विशेष
माडी नगरपालिकाले कृषिको बजेट बढायो

चितवन,साउन २७-
माडी नगरपालिकाले कृषिको बजेट बढाएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कृषिको बजेट करिब एक करोडले वृद्धि गरेको हो । गत आर्थिक वर्षमा कृषिका लागि तीन करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिकाले चालु आर्थिक वर्षमा ४ करोड ३७ लाख विनियोजन गरेको हो । जुन कुल बजेटको करिव ५ प्रतिशत हो । नगरपालिकाले आर्थिक वर्ष २०७६÷२०७७ का लागि ९५ करोड ३७ लाख बजेट विनियोजन गरेको छ ।
‘माडी नगरपालिकामा कृषि योग्य जमिन प्रशस्त रहेको र पशुपालनका लागि उपयुक्त क्षेत्र हो । कृषिबाट नै माडीको आर्थिक अर्थतन्त्र माथि उठाउनका लागि कृषिमा लगानी बढाएका छौँ’ माडी नगरपालिकाका नगरप्रमुख ठाकुर ढकालले भने । माडी नगरपालिकाले वडा स्तरीय १० करोड २० लाख रुपैयाँ बजेटबाट पनि कृषिका लागि बजेट विनियोजन गरिएको ढकालले जानकारी दिए ।
माडी नगरपालिकाले पशुपालन क्षेत्र बाहेक कृषि क्षेत्रको विकासका लागि एक करोड ४२ लाख रुपैयाँ बजेट छुट्टाएको छ । ‘कृषिलाई व्यवसायीकरण गर्न नगरपालिकाले कृषकहरुसंग हातेमालो गर्दै आफ्ना योजनाहरु अघि बढाएको छ,’ प्रमुख ढकालले भने, ‘कृषकलाई तालिम दिन पाँच लाख रुपैयाँ छुट्याएका छौं ।’ अहिले भैसी प्रजननका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । ‘माडी पशुपालनका लागि पनि क्षेत्र पर्दछ । ‘सामूहिक घाँस खेतीका लागि ७ लाख बजेट राखिएको छ,’ उनले भने, ‘माडीमा माछापालनका लागि ९८ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसले माडीका किसानको आर्थिक उन्नति हुनेमा हामी विस्वस्त छौँ ।’
नगरपालिकाले कृषकका लागि अनुदानका कार्यक्रमहरु ल्याएको छ । कृतिम गर्भधारण भएका गाई भैसीलाई नगरपालिकाले एक हजार रुपैयाँ भत्ता दिने भएको छ । यो वर्ष नगरपालिकाले एक सय ७८ वटा गाई भैसीलाई कृतिम गर्भाधान गराउने लक्ष्य राखेको छ । दुध बिक्रीमा पनि प्रतिलिटर तीन रुपैयाँ अनुदान दिने नगरप्रमुख ढकालले जानकारी दिए । यसका लागि ३६ लाख ५० हजार रुपैयाँ नगरपालिकाले बजेट विनियोजन गरेको छ ।
‘व्यवसायी कृषि तथा पशुपालनका लागि ४ प्रतिशत ब्याजमा ऋण लगानी गर्दैछौँ । हामीले प्रारम्भिक लाभग्राही संख्या तीन सय २४ परिवार राखेका छौँ,’ उनले भने, ‘पशुपंक्षी तथा कृषि विमामा २० प्रतिशत अनुदान दिँदै छौँ ।’ अति विपन्न वर्गका किसानलाई बाख्रापालनका लागि नगरपालिकाले २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकम ९० जनालाई विरतण गरिने ढकालले जानकारी दिए । यस्तै ‘एक भाई, एक गाई’ अनुदान अन्तरर्गत ४५ जनालाई १८ लाख रुपैयाँ अनुदान दिने कार्यक्रम बनाईएको छ ।
माडी माछापालनका लागि पनि उत्तम क्षेत्र हो । निकुञ्ज छेऊछाऊ माछा पोखरीहरु प्रशस्त छन् । यसैले माछापालन वृद्धि गर्नका लागि पनि थप अनुदानका कार्यक्रम ल्याईएको नगरप्रमुख ढकालले बताए । नयाँ पोखरी निर्माणका लागि २३ जना किसानलाई अनुदान दिने गरी ११ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको उनले बताए ।
शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा समेत नगरपालिकाले फड्को मारेको उनले बताए । माडी नगरपालिकाले यो वर्ष पर्यटन, स्वास्थ्य, सामाजिक सुरक्षा कार्यक्रमलाई पनि प्रमुख प्राथमिकतामा राखेको छ । नगरपालिकाले एक करोड २५ लाख पर्यटन र आदिवासी जनजातिका लागि एक करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै पूर्वाधारमा नगरपालिकाले २८ करोड रुपैयाँ छुट्टाएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि १९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
नगरपालिकाले अपाङ्गका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको छ । मिर्गौला तथा क्यान्सर रोगीका लागि २० हजार आर्थिक सहयोग, गर्भवती महिलालाई निःशुल्क भिडियो एक्स्रेको व्यवस्था गरिएको उनले जानकारी दिए । यो वर्षबाट नगरपालिकावासीलाई रगत निःशुल्क उपलब्ध गराउने नगरप्रमुख ढकालले जानकारी दिए ।