खैरहनी
खैरहनी नगरपालिकाद्वारा मानव सेवा आश्रमलाई सहयोग

चितवन, साउन २६-
युवा दिवसको पूर्वसन्ध्यामा आइतबार खैरहनी नगरपालिकाले विभिन्न मानवीय सेवाको काम गरेको छ ।
दिवसको अवसरमा आधारभूत विद्यालय बस्यौलीका फरक क्षमता भएका विद्यार्थीलाई पोशाक र स्टेशनरी वितरण गर्नुका साथै भरतपुर स्थित मानव सेवा आश्रममा एक छाक भोजन गराइएको छ । यस्तै भरतपुरमै रहेको साहारा नेपालमा रहेका बालबालिकाका लागि खाद्यान्न र स्टेशनरी वितरण गरिएको खैरहनी नगरपालिकाका शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिए । नगर भित्रका युवाको समेत उपस्थितिमा कार्यक्रम गरिएको थियो । युवालाई सामाजिक तथा मानवीय कार्यतर्फ उन्मुख गराउने उद्देश्यका साथ युवा दिवसको अवसर पारेर कार्यक्रम गरिएको पौडेलले बताए ।
तीन वटै कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा, सामाजिक विकास समिति संयोजक एवम् खैरहनी ७ का वडाध्यक्ष मनेजर महतो, खैरहनी १२ का वडाध्यक्ष टीकाराम तिमल्सिनालगायत विभिन्न युवा क्लबका प्रतिनिधिको उपस्थिति रहेको थियो । युवा दिवसको दिन भोलि सोमबार खैरहनी नगरपालिकाको आयोजनामा प्रभातफेरि र रक्तदान कार्यक्रम राखिएको छ ।