इच्छकामना
भूकम्पले छियाछिया पारेको घरमा मुग्लिन प्रहरी,बिगत चार वर्षदेखि टेन्टको बास

चितवन, साउन २६-
भूकम्पले भत्किएको प्रहरी कार्यालय समयमा बन्न नसक्दा इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत प्रहरीले विगत चार वर्षदेखि टेन्टमा बास बिताइरहेका छन् ।
पृथ्वी राजमार्गको धादिङदेखि यता नारायणगढ मुग्लिन सडकसम्म केही भइहाले तत्काल जुट्ने जिम्मेवारी इलाका प्रहरी कार्यालय मुग्लिनको हो । सवारी दुर्घटना भइरहने र बेला–बेला पहिरो पनि खसिरहने जस्ता घटनाका कारण इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी जवान २४ सै घण्टा अलर्ट अवस्थामा रहनुपर्छ । तर दिनरात नभनी खटिरहनुपर्ने यस प्रहरी युनिटका जवानको बासकै टुंगो छैन । १७ जना प्रहरी जवान कार्यरत युनिटका जवानले तीनवटा टेन्टमा रात कटाइरहेका छन् ।
पहिलेदेखि रहेको पुरानो भवन २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि काम नलाग्ने भएको छ । बसोबासको समस्याका कारण यस कार्यालयका प्रहरी जवानको विजोग देखिन्छ । ‘जवानका लागि चाहिने जति टेन्ट पनि छैन,’ हालै मात्रै प्रमुखका रुपमा कार्यालय आएका प्रहरी निरीक्षक नवीन बुढाथोकीले भने, ‘त्यो पनि चर्को गर्मीले गर्दा खपी नसक्नु छ ।’ भूकम्पका बेला तत्काल अस्थायी क्याम्पका रुपमा सारिए पनि प्रहरी प्रधान कार्यालयले विकल्प नदिँदा चार वर्ष बितिसक्दा पनि प्रहरीहरुको बसोबास त्यही टेन्टमा भइरहको छ ।
ड्युटी सकेर पंखाको तातो हावासँगै आराम गरिरहेका जवान निराजन शाहीले भने,‘गर्मी त धानेकै छौं । पानी पर्दा पोखरी बन्छ ।’ यस क्षेत्रमा पानी परेकै बेला बढी घटना हुनेगर्छन् प्रहरीलाई त्यसबेला आफ्नो बास जोगाउने कि, अरुको उद्धारमा खट्ने, भन्ने दुविधा हुने जवान शाहीले बताए। गर्मीमा पंखा चलाउँदा पनि टेन्टमा बस्न कठिन छ । लाइन गएर त्यही पनि बन्द हुँदा झन कठिन हुन्छ । ‘लाइन गएपछि टेन्टमा बस्नै सकिन्न,’ अर्का जवान लक्ष्मण रानाभाटले भने,‘मच्छर धपाउँदै बाहिर निस्कनुपर्छ ।’
प्रहरी निरीक्षक बुढाथोकीले आउनासाथै नयाँ समस्याबारे थाहा पापछि उनलाई पनि चैन मिलेको छैन । उनले आफ्ना लागि भाडामा लिइएको आवास छाडेर जवानसँगै टेन्टमै बस्दै आएका छन् । समस्याबारे माथिल्ला निकायमा खबर गरेकाले उनी आशावादी भएको बताए।
चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले कार्यालयको अवस्थाबारे जानकार रहेको बताए । उनले भने,‘चाँडै नयाँ भवनका लागि टेन्डर हुने जानकारी पाएको छु ।’ उनका अनुसार प्रदेश ३ प्रहरी मुख्यालयबाट नयाँ भवनका लागि स्टिमेट र टेण्डर हुँदैछ ।