चितवन विशेष
चितवनका साहित्यकार विरहीको उपचार खर्च जुट्दै्

राँझा साउन २३-
अग्रज पत्रकार एवं साहित्यकार रेशम विरहीको उपचारमा सहयोग गर्न बाँकेमा आर्थिक सङ्कलन अभियान शुरु भएको छ । नेपाल पत्रकार महासङ्घ बाँके शाखाले शुरू गरेको अभियानमा रु एक लाख २५ हजार सङ्कलन भएको अध्यक्ष ठाकुरसिंह थारूले बताए।
पाँच दशकदेखि पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील विरही हाल बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत हुनुहुन्छ । हाल भरतपुर महानगरपालिका–१६ चितवनमा बसोबास गर्दै आएका विरहीको ठूलो आन्द्रामा क्यान्सर देखिएको छ ।
नेपाल पत्रकार महासङ्घ बाँकेले साहित्यकार विरहीको उपचार सङ्कलन अभियान शुरु गरेको भोलिपल्टै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले एक महीनाको आफ्नो तलबभत्ता रु ५० हजार प्रदान गर्ने घोषणा गरेका थिए ।
एक दुईदिनभित्रै नगरप्रमुख राणाले रकम प्रदान गर्ने महासङ्घ अध्यक्ष थारूले बताए। उनका अनुसार, महासङ्घका साधारण सदस्य र नेपालगञ्जका उद्योगी व्यापारीले पनि विरहीको उपचारमा स्वस्फूर्त सहयोग प्रदान गरिरहेका छन् । चितवन, काठमाडौँ र नेपालगञ्जमा रहेर विभिन्न पत्रपत्रिकामा काम गरिसकेका विरहीका नौ वटा कृति प्रकाशित भइसकेका छन् ।रासस