चितवन विशेष

चितवनमा पाङ्गेसियस माछाको भुरा उत्पादन प्रभावकारी भएन

Banner

चितवन,साउन २२-

चितवनमा पाङ्गेसियस (बैठा) माछाको भुरा उत्पादन प्रभावकारी हुन सकेको छैन । मत्स्य विकास केन्द्र भण्डारा चितवनले पाँच वर्षदेखि उक्त प्रजातिका माछाको भुरा उत्पादन थालेको थियो । केन्द्रले वार्षिक दुई लाख भुरा उत्पादनको लक्ष्य लिएपछि केही हजार भुरामात्रै उत्पादन गर्दै आएको छ ।

मत्स्य विकास केन्द्र भण्डाराका प्रमुख माधवप्रसाद दाहालले गत वर्ष २२ हजार मात्रै भुरा उत्पादन भएको जानकारी दिँदै विभिन्न कारणले प्रयास गरिएपनि प्रभावकारी हुन नसकेको बताउनुभयो ।“यो वर्ष पनि दुईलाख भुरा उत्पादन गर्ने लक्ष्यसहित निरन्तरता दिएका छौँ, तर प्राविधिक तथा वैज्ञानिकको अभाव छ ।” दाहालले भन्नुभयो । पाङ्गेसियसका भुरा उत्पादन गर्न केन्द्रले २०० भन्दा बढी माउलाई पालेर राखेको छ ।

अन्य माछाको तुलनामा यसको भुरा उत्पादन कठिन हुने प्रमुख दाहालले बताउनुभयो । यसलाई सङ्लो र न्यानो पानीको आवश्यकता पर्ने उहाँको भनाइ छ । भुरा उत्पादन प्रभावकारी नहुँदा ठूलो परिणाममा भारत र बङ्लादेशबाट आयात हुँदै आएको छ । पाङ्गेसियस माछा काँडा कम भएको, स्वादिलो र कम क्षेत्रफलमा बढी उत्पादन हुने हुन्छ ।

नेपाल मत्स्य व्यवसायी सङ्घका केन्द्रीय महासचिव जोगेन्द्र महतोले यसको भुरा उत्पादनका लागि छुट्टै ह्याचरी हुनुपर्नेमा त्यो नभएको बताउनुहुन्छ । सरकारले अनुदान दिएमा व्यवसायी ह्याचरी खोल्न तयार हुने व्यवसायीको भनाइ छ ।

नेपाल मस्त्य व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष अम्बिका अधिकारीले मागअनुसार भुराको उत्पादन हुने हो भने व्यवसायीक उत्पादन वृद्धि हुनुका साथै कृषकले मनग्य आम्दानी गर्न सक्ने बताउनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>