चितवन विशेष
माडीवासी उज्यालोमा भन्दा बढी अध्यारोमा बस्न बाध्य

सुवास लामिछाने
चितवन, साउन २२-
माडी नगरपालिकाका स्थानीयवासी उज्यालोमा भन्दा अध्यारोमा बस्न बाध्य भएका छन् ।
विद्युत् प्राधिकरणको पटक–पटकको समस्याले माडीवासीहरु हैरानी ब्योहोर्न बाध्य भएका हुन् । राष्ट्रिय निकुञ्जभित्र अन्डर ग्राउण्ड हँदै माडी नगरपालिकामा विस्तार भएको विद्युत्मा हाल भने समस्या नदेखिए पनि माडी क्षेत्रमा धेरै नै समस्या देखिने गरेको छ । विद्युत् प्राधिकरण सब–स्टेशन माडी शाखाले ०४० र ०४१ को मिटर रिडिङ एरियाको माध्यमबाट विद्युत् विस्तार गरिरहेको छ । माडी क्षेत्रमा ०४१ मिटर रिडिङ एरियाको लाइन धेरै क्षेत्रमा पुग्ने र लामो तार रहेको लाइन अन्र्तगत पर्ने गर्दछ ।
यसमा धेरै नै समस्या आएको विद्युत् प्राधिकरण सब स्टेशनले समस्या समाधानमा खासै चासो नदेखाएको स्थानीयवासीहरुले गुनासो गरेका छन् । समयमै विद्युत् सुचारु नहुने टेलिफोन समेत सम्पर्क नहुँदा विद्युत् सम्बन्धी जानकारी प्राप्तमा समस्या भएको माडी एक स्थानीय गोपाल सापकोटाले जानकारी दिए । विद्युत् पटक–पटक काटिरहँदा आफ्नो घरमा भएका इलेक्ट्रिक सामग्रीलगायत अन्य उपकरणमा समेत क्षति पुगेको अर्का स्थानीय गोमा विक बताउँछिन् । माडीको समस्या समाधानका लागि के कस्तो प्रयास हुँदैछ भन्ने प्रश्नमा नेपाल विद्युत् प्राधिकरण भरतपुरका प्रमुख सुरेश महतोले उपभोक्ताको गुनासोलाई सम्बोधन गर्ने र छिटै नै समस्या समाधान हुने बताए ।
कर्मचारी अभावले गर्दा समयमै कार्य गर्न नसकिएको र काम गर्दा ढिला भएको समेत उनले स्वीकार गरे । चनौलीमा नयाँ वितरण केन्द्र सञ्चालन गर्न लागिएको र नयाँ वितरण केन्द्र सञ्चालन भएपछि हालको समस्यामा केही कमी आउने र काम छिटो छरितो हुने समेत बताए । एक या दुई महिनामा केन्द्र सञ्चालन गरिने समेत महतोले जनाए । दरबन्दी सञ्चालन गरेपछि माडीमा समेत कर्मचारी पुग्ने उनले उद्घोष गरे । यता माडी नगरपालिकाले सबै क्षेत्रमा विद्युत् विस्तारका लागि लागिपरिरहेको छ । यस आर्थिक वर्षमा माडी नगरपालिकाका–९ वटै क्षेत्रमा विद्युत् विस्तार गरिने नगरपालिकाले जनाएको छ ।